दैलेख, २२ असोज–दैलेखको चामुण्डाबीन्द्रासैनी नगरपालिका–२ चाल्ने चौतारामा २३ यात्रु बोकेको एसएमएल दुर्घटनामा परेको छ । सुर्खेतबाट चामुण्डा–२ चाल्ले चौतारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख् ०९०६ नम्बरको गाडी सोमबार राति ९ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनिल दाहलले जानकारी दिए । उनका अनुसार दुर्घटनापछि च्यापिएर घाइते चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ सिंहासैनका २२ वर्षीय प्रकाश बुढाको मृत्यु भएको हो ।
स्थानीयका अनुसार प्रकाश गाडीको बाहिर झ्यालमा झुण्डिएर यात्रा गरेका थिए । सडकमा गाडी पल्टिँदा उनलाई गाडी थिचेको थियो । भित्र बसेका सबै सकुशल रहेका बताइएको छ ।
बुढालाई उपचारका लागि दुल्लु अस्पताल लगिए पनि चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका छन् । उनको शव पोस्टमार्टमका लागि दुल्लु अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । उकालोमा टायर चिप्लिएर गाडी दुर्घटना भएको डीएसपी दाहालले जानकारी दिए ।
दुर्घटनामा परेको गाडी र चालक वीरेन्द्रनगर नगरपालिका–२ भुरेली बस्ने २८ वर्षीय राजेन्द्र बुढालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
