काठमाडौँ हनुमानढोका दरवार क्षेत्रमा रहेको बडादसैँको नवमीका दिन मात्र ख'ल्ने तलेजु भवानी मन्दिरमा पूजा तथा दर्शन गर्न आएका भक्तजन । तस्बिर : हरिराम भेटुवाल / रासस

काठमाडौं, २५ असोज–हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एक पटक आज अर्थात महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ । उपत्यकाका विभिन्न स्थानबाट तलेजु भवानीको दर्शन गर्न आएका भक्तजनहरूको बिहानैदेखि भीड रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा लगिन्छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने चलन छ । मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइन्छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पले महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्रि पूजा गर्ने गरिएको जनाइएको छ ।

नवरात्रको अन्तिम दिन शुक्रबार देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागिरहेको छ । आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरू गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बगलामुखी लगायत देवी मन्दिरहरूमा पनि बलीसहित पूजा आजा गर्नेहरूको बिहानैदेखि भीड लागेको छ ।

यस्तै, उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरा, अर्घाखाँचीको सुपादेउरालीलगायतका शक्तिपीठहरूमा पनि बलीसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरूको घुँइचो लागेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *