चितवन, २० भदौं–नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै गिरफ्तार हुनुभएको छ । भरतपुर अस्पतालमा उपचाररत उहाँलाई प्रहरीले आज अपराह्न गिरफ्तार गरेको छ । उहाँलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेसँगै प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले धनुषामा विरहीविरुद्ध मुद्धा भएकाले नियन्त्रणमा लिइएको बताए। ‘अस्पतालले डिस्चार्ज गरेसँगै नियन्त्रणमा लिएका हौँ, उहाँलाई धनुषा पठाउँछौ’, उनले भने। जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर उनलाई प्रहरी कार्यालय पुर्याइएको छ ।
धनुषा प्रहरीसँग समन्वय भइरहेकाले विरहीलाई धनुषा नै पठाइने प्रवक्ता थापाले जानकारी दिए। नेता विरही वैशाखदेखि नै भरतपुर अस्पतालमा उपचाररत थिए। घरमा काम गर्दा लडेपछि ढाडमा समस्या हुँदा विरही उपचारका लागि पुरानो मेडिकल कलेज आएका थिए।
त्यही बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्याएको थियो । नेता विरही चन्द समूहका प्रभावशाली नेताका रुपमा चिनिन्छन्।
