एजेन्सी, २१ भदौं–यूईएफए नेसन्स लिगअन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ल्यान्डले आइसल्यान्डलाई पराजित गरेको छ। आइसल्यान्डको लगार्डअल्स्भलर रंगशालामा सम्पन्न खेलमा पाहुना टिम इङ्ल्यान्डले घरेलु टोलीलाई १–० गोलले पराजित गरेको हो।
प्रतियोगितामा इंग्ल्यान्डका मिडफिल्डर रहिम स्टर्लिङले निर्णायक गोल गरे। उनले खेलको अन्तिम मिनेटमा पाएको पोनाल्टीको अवसर सदुपयोग गर्दै टोलीलाई जित दिलाए। त्यसअघि ७० औँ मिनेटमा इङ्ल्यान्डका केयली वल्कर दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि पाहुना टिम १० खेलाडीमा सिमित बनेको थियो।
आइसल्यान्डका सेभिर इन्गी इन्गासनले पनि ८९ औं मिनेटमा रातो कार्ड पाएर बाहिरिएपछि पाएको पेनाल्टी सदुपयोग गर्दै इङ्ल्यान्डले गोल गरेको हो। जितसँगै इङ्ल्यान्ड तीन अंकका साथ लिग ए, समूह २ को दोस्रो स्थानमा छ। गएरातिकै खेलबाट जित निकालेको बेल्जियम भने शीर्ष स्थानमा छ। बेल्जियमले डेनमार्कलाई २–० गोल अन्तरले हराउँदै जित निकालेको थियो।
त्यस्तै, आयसल्यान्ड र डेनमार्क भने समूहको तेस्रो र चौथो स्थानमा छन्। अर्को खेलमा फ्रान्सले स्वीडेनलाई १–० गोलले पराजित गरेको छ । फ्रान्सका लागि केलियन एमबाप्पेले निर्णायक गोल गरे। यसैगरी, पोर्चुगलले क्रोसियालाई ४–१ गोलले पराजित गरेको छ।
