काठमाडौं, २१ भदौं–कोरोना भाइरस संक्रमणका कारण यूएई (दुवई) मा थप पाँच नेपालीको ज्यान गएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै युएईमा कार्यरत नेपाली रहेका छन् । योसँगै शनिबार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु हुने नेपालको संख्या २ सय पुगेको छ ।
स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ ।
समितिका संयोजक डा। संजीव सापकोटाका अनुसार जापान, अस्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ ।
संघका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
कोरोना भाइरसका कारण अहिलेसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की नेदरल्यान्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान गएको छ।
हालसम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ। ३२ हजार ९ सय ८९ जना कोरोना संक्रमणमुक्त भएको पनि समितिले जनाएको छ । यो कुल संक्रमित संख्याको ९४ प्रतिशत हो ।
