काठमाडौं, २१ भदौं–तोकिएको समयमा मल आउन नसकेपछि कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले क्षमा माग्दै दुःख व्यक्त गरेका छन्। आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले समयमै मल ल्याउन नसकिएको भन्दै दुःख व्यक्त गरेका हुन्। उनले आगामि दिनमा यस्तो गल्ती दोहोरिन नदिने प्रतिवद्धता समेत व्यक्त गरे। उनले मल आयात गर्न जिम्मा दिएको दुई वटा सप्लायर्स कम्पनीको सम्झौता रद्द गरी कारबाही गरिएको समेत बताए। जसमध्ये सैलुङ इन्टरप्राइजेज प्रालि र होनिको मल्टिपल प्रालि रहेको छ ।
कृषि समाग्री कम्पनीले २०७७ वैशाख १२ गते ९२०२० अप्रिल २४० सैलुङ इन्टरप्राइजेजसँग २५ हजार मेट्रिक टन र वैशाख १५ गते ९२०२० अप्रिल २७ ० होनिको मल्टिपलसँग २५ हजार मेट्रिक टन युरिया मल खरिद गर्नका लागि सम्झौता गरेको थियो । दुवै सप्लायर्सलाई २०७७ साउन ८ गते ९२०२० जुलाई २३० भित्रमा तोकिएको मल आयात गरिसक्नुपर्ने समय सीमा तोकिएको थियो । त्यसपछि पनि २५ दिन थप गरिएकोमा उक्त मितिसम्म पनि मल सिपमेन्ट हुन नसकेपछि सम्झौता रद्द भएको मन्त्री भुसालले बताए।
कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले मल आयात गर्न नसक्ने दुवै सप्लायर्सको करिब १० करोड रुपैयाँ जफत गरिएको समेत बताए। उनले अहिले ३२ हजार ५ सय मेट्रिक टन युरिया कलकत्ता बन्दरगाहबाट नेपाल भित्रिरहेको बताए। अन्य मल वितरण भइरहेको समेत बताए। उनले ढिलो गरी मल आयात हुँदा आपूर्तिमा समस्यादेखिए पनि विस्तारै सहज हुँदै जाने बताए। यसबाहेक धान र गहुँको लागि आवश्यक हुन सक्ने युरिया बङ्गलादेश सरकारसँग ५० हजार मेट्रिकटन पछि फर्काउने गरी पैँचो मागिएको समेत बताए।
प्रधानमन्त्रीस्तरबाट अनुमति पाइसकेकाले मल पैँचो ल्याउने प्रक्रिया अगाडि बढिसकेको पनि मन्त्री भुसालले बताए पैँचो ल्याउने सम्बन्धमा दुई मुलुकका प्रधानमन्त्रीबीच समझदारी समेत भइसकेकाले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाइएको उनले बताए। अबको १५ दिनभित्र बंगलादेशको मल नेपाल ल्याउने गरी काम गरिएको मन्त्री भुसालले बताए।
नेपालमै युरिया मल उत्पादनका लागि कारखाना खोल्ने सम्बन्धमा मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीको नेतृत्वमा ‘रसायनिक मल कारखाना सम्भाव्यता अध्ययन कार्यदल’ गठन गरि काम आरम्भ भइसकेको पनि मन्त्री भुसालले बताएका छन्।
