काठमाडौं, २२ भदौं–कोरोना भाइरस संक्रमण र उपचारबारे भ्रम फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो।
विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा कोरोना संक्रमणबाट मृत्यु भएकाको मिर्गौलालगायतका अंग झिकिने गरेको भन्दै भ्रम फैलाएको आरोपमा महानगरीय अपराध महाशाखाले लिम्बुलाई पक्राउ गरेको हो। उनलाई ललितपुरको ढोलाहिटीस्थित उनकै क्लिनिकबाट पक्राउ गरिएको अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए।
लिम्बूले केही समययता विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा कोरोना रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तिमाथि गम्भीर आरोप लगाउँदै आएका थिए। साथै उनले केही च्यानलमा आफूले कोरोनाविरुद्धको खोप बनाएको र त्यो प्रमाणित हुन बाँकी रहेको दाबी गर्दै आएका थिए।
सुब्बाले कोरोनाविरुद्ध आफूले भ्याक्सिन बनाएको दावी गरेका छन्। मुलुकी अपराध संहिता ०७४ को दफा ७० मा झूटा अफवाह फैलाएमा वा प्रचार प्रसार गरेमा १ बर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुने कानुनी व्यवस्था छ।
