धनगढी, २४ भदौं–बझाङ पिपलकोटका गैरे धामी मंगलबार बिहानै गौरीफन्टा नाका हुँदै भारत जानेहरूको लाइनमा थिए। उनी रोजगारीका लागि भारत जान बझाङबाट सीमा नाकामा स(परिवार पुगेका थिए। कोरोना महामारीकै बीच भारतबाट धामी गाउँमा फर्किएका उनी रोजगारीको कुनै सम्भावना नदेखेपछि फेरि भारतै जान लागेका हुन्।
तीन महिनाअघि भारतको महाराष्ट्रबाट फर्किएका डडेल्धुराका कमल टमटा पनि पुनः रोजगारीका लागि भारत जान गौरीफन्टा नाका पुगेका थिए। उनको पीडा पनि उस्तै थियो। ‘गाउँमा केही काम छैन, घर व्यवहार चलाउन साह्रै समस्या भएको छ, काम खोज्न त जानु पर्यो नि’, विवशता बताए उनले। कोरोना महामारीको डरले लकडाउनमा घर फर्किएका कैलाली टीकापुरका भीम बुढा पनि पुनः कामकै खोजीमा भारत जान गौरीफन्टा नाकामै पुगेका थिए। ‘भारतबाट कमाएर ल्याएको सबै सकियो, यहाँ बसेर के गर्ने ?’ उनले उल्टै मार्मिक प्रतिप्रश्न गरे।
सुदूरपश्चिमका अधिकांश नागरिक परिवारको पेट पाल्नकै लागि भारत जाने गर्छन्। सरकारले लगाएको लकडाउनले शैक्षिक संस्थासमेत लामो समय बन्द भएपछि १४र१५ वर्ष उमेरका कतिपय बालबालिका पनि अभिभावकसँग भारत गइरहेका छन्। नेपालीहरुलाई भारत जान सीमामै भारतीय आधार कार्ड आवश्यक पर्ने हुन्छ। नेपालबाट जानेहरू कि भारतीय नागरिक हुनुपर्ने कि त भारतीय आधार कार्ड हुनुपर्ने व्यवस्था भएको सीमा सुक्षामा खटिएका सुरक्षाकर्मीले जनाएका छन्।
नेपालीहरु लैजान सीमामै आइपुग्छन् ‘सेठ’
लकडाउन अवधिमा नेपालीहरु घर आउँदा भारतमा भने कामदार अभाव भइरहेको छ। भारतका विभिन्न उद्योग कलकारखाना रहेका नेपाली घर आएका छन्। भारतमा पनि लकडाउन खुकुलो भएसँगै उद्योग कलकारखाना जस्ता क्षेत्र खुल्दै गएका छन्। जहाँ काम गर्ने अधिकांश नेपाली यतै छन्। जसले गर्दा भारतमा नेपाली कारदारको अभाव भइसकेको छ।
उनीहरुले सीमा नाकाबाटै नेपालीलाई आ–आफ्नो कम्पनीमा कामका लागि लैजाने गरेका छन्। भारतीय आधार कार्ड नभएका नेपालीहरु समेत भारतीय साहुले आफ्नो जिम्मामा कामका लागि लैजाने गरेका छन्। लकडाउन अवधिमा सुदूरपश्चिमका मात्रै झण्डै पाँच लाख बढी नेपालीहरु घर फर्किएका थिए। सीमामा खटिएका भारतका सीमा सुरक्षा अधिकारीले भारतमा रोजगार दिनेवालाले आफ्नो कामदार हो भनी लिखित रूपमा सरकारी निकायलाई दिएको नामका आधारमा नेपालीलाई प्रवेश दिने गरिएको बताए।
