कञ्चनपुर, २४ भदौं–शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिरेको जंगली हात्तीको बथानले मंगलबार राति कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ जोनापुरका किसानको दुई विघा जग्गामा लगाएको धानबाली खाएर नोक्सानी पुर्याएको छ। आठ वटाको संख्यामा आएको हात्तीको बथान किसानका खेतमा छिरेको बताइएको छ।
मध्यराति किसानका खेतमा छिरेको हात्तीको बथानले स्थानीय किसान चेतराम डगौरा, गंगाराम डगौरा र सीताराम डगौराको गरी दुई विघा बढी जग्गामा लगाएको धानबालीमा व्यापक नोक्सानी पुर्याएको हो। ‘पाक्नै लागेको धानबाली हात्तीको बथानले खाएर र खुट्टाले कुल्चेर तीन जना किसानको खेतमा व्यापक नोक्सानी पुर्याएको छ’ वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भने, ‘अन्य किसानको खेतमा हात्तीको बथानले यताउता हिँडदै गर्दा खुट्टाले च्याप्दा पाकेको धान झारिदिएको छ।’ वर्षभरिका लागि खान र बेचेर परिवारको गुजारा चलाउनका लागि किसानले लगाएको धानमा हात्तीको बथानले नोक्सानी पुर्याएपछि किसानको विजोग भएको उनले बताए।
प्रतिवर्ष हात्तीको बथानले यस क्षेत्रका किसानका खेतमा छिरेर बाली पाक्ने बेला नोक्सान पुर्याउँदै आएको छ। ‘पहिला हात्ती खेतमा छिर्नअगावै ठूलोठूलो आवाज निकाल्ने हुँदा जानकारी हुन्थ्यो। भगाउन सजिलो हुन्थ्यो’ स्थानिय किसान चेतराम डगौराले भने ‘गए राति हात्तीको बथान सुटुक्क खेतमा छिरेर धानबाली खाएर निकुञ्जतर्फ फर्कन लागेको बेला मात्रै जानकारी पायौं। खेतमा लगाएको धानबाली जोगाउन सकेनौं।’ धान पाक्ने अवस्थामै थियो।
हात्तीले पूरै खाएर र खुट्टाले कुल्चेर नोक्सान गरेपछि परिवारका लागि अन्नको जोहो कसरी मिलाउने भन्ने चिन्ता थपिएको उनले बताए। हात्ती नियन्त्रणका लागि स्थानीय किसानले विद्युतीय फेन्सिङ तार जडान गरिदिन माग गर्दै आएका छन्।
