काठमाडौं, २४ भदौ–नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकाल थप गर्ने प्रस्ताव बिहीबारको मन्त्रिपरिषद्मा पेश हुने भएको छ। ऊर्जामन्त्री वर्षमान पुनले कार्यकाल थपसम्बन्धी प्रस्ताव बिहीबारको मन्त्रिपरिषद्मा पेश गर्न लागेका हुन्।

‘ऊर्जा मन्त्रीले उहाँ (कुलमान) को कार्यकाल थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजानु हुन्छ’, पुनका प्रेस संयोजक दयानिधी भट्टले भने, ‘सम्भवत् बिहीबारको मन्त्रिपरिषदबाट निर्णय हुन्छ।’

खुला प्रतिस्पर्धाबाट चार वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख भएका कुलमानको म्याद यही भदौ २९ गते सकिँदैछ।

स्रोतका अनुसार कुलमानको म्याद थपका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गरिसकेका छन्। कुलमानलाई प्रचण्डले आफ्नो सरकारको पालामा विद्युत प्राधिकरणको जिम्मा दिएका थिए। प्रचण्डले नै ऊर्जामन्त्री वर्षमान पुनलाई कुलमानको म्याद थपको प्रस्ताव अगाडि बढाउन निर्देशन दिएको स्रोतले बतायो।

प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानको म्याद थप गर्ने विषयमा अहिलेसम्म मुख खोलिसकेका छैनन्। स्रोतका अनुसार कुलमानको म्याद थपसँगै रिक्त संवैधानिक निकायहरूमा नियुक्ति विषयमा ओली र प्रचण्डबीच छलफल भएको छ।

कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख भएपछि नेपालमा लोडसेडिङ हटेको थियो। त्यस्तै, कुलमानले चार वर्षमा उल्लेख्य मात्रामा विद्युत चुहावटमा कमी ल्याएका छन्। घाटामा रहेको विद्युत प्राधिकरण हाल नाफामा छ। तर उनको चार वर्षको कार्यकालमा कुनै पनि नयाँ ठूला आयोजना सुरू हुन सकेका छैनन्।

ऊर्जा मन्त्रालय स्रोतका अनुसार कुलमानको म्याद यसपटक दुई वर्ष थपिने सम्भावना छ। सरकारले प्राधिकरणमा नयाँ नियुक्ति गर्न अहिलेसम्म विज्ञापन गरेको छैन। यस्तोमा कुलमानको म्याद थप हुने लगभग निश्चित रहेको स्रोतले बतायो।

कुलमान माथि विद्युत शुल्क कटौतीको जस आफैं लिएको आरोप राजनीतिक वृतबाट लाग्ने गरेको छ। सरकारले नीति तथा कार्यक्रम र बजेटबाट ल्याएको कार्यक्रममा समेत जस कुलमानले पाएकाले पनि उनलाई निरन्तरता दिनेमा सरकार झस्किएको स्रोत बताउँछ।

कुलमानलाई हटाउँदा सरकारको छविमा नै असर पर्ने अवस्था भएकाले सरकार पनि निरन्तरता दिने निर्णय गर्नैपर्ने अवस्थामा पुगेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *