भद्रपुर, २५ भदौ–अपराध र भ्रष्टचार नियन्त्रणमा सरकार गम्भीर बन्न नसकेको भन्दै नेपाल विद्यार्थी संघ झापाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन-पत्र बुझाएको छ ।
सरकारको ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनालाई हिजो ज्ञापनपत्र बुझाएको हो । नेविसंघका निवर्तमान केन्द्रिय सदस्य सन्तोष उप्रेतीको नेतृत्व र संघका जिल्ला उपसभापति भवानी काफ्लेको संयोजकत्वमा ज्ञापनपत्र बुझाउन जिल्लास्थित नेविसंघका नेताहरु रविन्द्र ढुंगाना, किरण भण्डारीलगायतको टोली जिल्ला प्रशासन कार्यालय पुगेको संघका जिल्ला कोषाध्यक्ष नवराज ढकालले जानकारी दिए ।
ज्ञापन-पत्रमा राज्यले आम नागरिकको जीवनयापन गर्न पाउने अधिकारको सुनिश्चितता गर्न नसकेको ज्वलन्त उदाहरण झापाको शिवसताक्षीमा भएको युवकको हत्याकाण्ड, रौतहटमा भएको दलित युव निरञ्जन रामको हत्याकाण्ड आदिलाई लिन सकिने उल्लेख छ ।
ज्ञापन-पत्रमा राज्यसंचालनको नेतृत्वकर्ता नेकपाका नेता कार्यकर्ताहरु ठाउँ –ठाउँमा भइरहेका लुटपाट र चन्दा उठाउने कार्यमा सक्रिय भएको आरोप लगाउँदै कृषि पेशामा आवद्ध किसानहरुलाई चाहिने कृषि सामग्री तथा मलको सहज उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइएको छ ।
त्यसैगरी, कृषि अनुदानका नाममा जिल्लाका विभिन्न पालिकाहरुमा भइरहेको भ्रष्टचार र अनियमिततामा संलग्नहरुलाई कडा कारवाही गर्दै वास्तविक किसानहरुको पहिचान गरेर कृषिमा अनुदान उपलब्ध गराउनका साथै स्वास्थ्य, शिक्षा र रोजगारको ग्यारेन्टी गर्न पनि जोडदार माग गरिएको छ ।
