दाङ, २७ भदौं–शान्तिनगर गाउँपालिकालाई विभिन्न संघसंस्थाले दिएको राहातको चामल गोदाममै कुहिन थालेको छ। गाउँपालिकाको गोदाममा राखिएको २५ किलोका ३२ बोरा चामलमध्ये अधिकांश बोरामा रहेको चामलमा ढुसी लागेका छ। गोदाममा रहेको करिब १५ किलो कुहिएको दाल भने गौशालामा लगेर बस्तुभाउलाई खुवाइएको छ। अहिले ६ बोरा आयोडिन नुन गोदाममा थन्किएको छ।
लकडाउनको समयमा विपन्न वर्ग तथा मजदुरलाई राहत दिने उद्देश्यले विभिन्न संघसंस्थाले करिब ५२ कुइन्टल चामलसहित दाल, नुन, तेल गाउँपालिकालाई दिएको स्टोर शाखा प्रमुख नन्दराम केसीले जानकारी दिए। तर, चामलमा ढुसी लाग्ने गरी थन्किए पनि विपन्न वर्गले भने राहत नपाएको गुनासो गरेका छन्। ‘आफूलाई साँझ बिहान के पकाउँ र खाउँ भन्ने छ,’ शान्तिनगर–३ पश्चिम गनारीका वीर बहादुर विकले भने, ‘पटकपटक वडा हुँदै गाउँपालिकामा जाँदा समेत राहत छैन भन्दै फर्काए।’
त्यसैगरी शान्तिनगर–४ चिराघाटका बालाराम पौडेलले गाउँपालिकामा चामल कुहिएको सुन्दा सबै गरिबमारा हुन् भन्ने लागेको बताए। ‘घरमा खाने अन्न भएर पनि छैन भन्दै थैलो लगेर कोही माग्न जादैन,’ उनले भने ,‘ तर हामीलाई घरमा टन्न अन्न राखेर माग्न आए जस्तो गरेर एक गेडा पनि चामल छैन, भनेर फर्कायो।’ गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले भने गोदाममा राखेको चामल अलिअलि ढुसी लागे पनि बाहिर हल्ला भए जस्तो नकुहिएको दाबी गरे। उनले अहिले पनि घरमा खाने छैन भनेर आउने ब्यक्तिहरुलाई दिने गरेको जिकिर गरे। ‘खान नै नमिल्ने त होइन,’ उनले भने, ‘अलिकति ढुसी लागेको जस्तो छ। कुटाउने वित्तिकै बोरामा राख्दा त्यस्तो भएको हो। हिजो भर्खरै दुईजनालाई दिएर पठाएका छौँ।’
गाउँपालिकाले लकडाउनको समयमा १२ सय कुइन्टल चालम खरिद गरी प्रत्येक वडाका अति विपन्न परिवारलाई २५ देखि ३० किलो चामल, २ लिटर तेल, दाल, नुन वितरण गरेको उनले बताए। त्यसैगरी गाउँपालिकामा विभिन्न संघसंस्थाहरुले पनि सहयोग गरेको र त्यो फेरिबाड्दा दोरिने भएकाले त्यो राहात क्वारेन्टाइनमा बसेकालाई दिने भनेर गोदाममा राखिएको अध्यक्ष डाँगीको भनाइ छ। ‘कोरोना महामारीका कारण बाहिरबाट वडाबासी आउँछन्, उनीहरु १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ,’ उनले भने , ‘तर आउने वित्तिकै उनीहरुको घरमा खानका लागि समस्या होला भनेर राखिएको हो।’
क्वारेन्टाइनमा १४ दिन बसेर पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रमाण लिएर आउनेलाई राहत दिने गरेको गाउँपालिकाले बताएके छ । तर प्रमाण भएका ब्यक्तिहरु प िनदिएको बताइएको छ। गाउँपालिकामा हालसम्म क्वारेन्टाइनमा करिब १३ सयभन्दा बढी ब्यक्तिहरु बसेको अध्यक्ष डाँगीले बताए।
