काठमाडौं, २७ भदौं–हाल बजारमा पाइँदै आएको ह्याण्ड सेनिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन मिसाइएको पाइएको छ। कोरोना भाइरस ९कोभिड १९० को रोकथामका लागि प्रभावकारी मानिएको ह्याण्ड सेनिटाइजरमा विभिन्न उद्योगले मेथानोल नामक विषाक्त मिसाइएको पाइएको औषधि व्यवस्था विभागले जनाएको छ।
राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा काठमाडौंका ४ र भक्तपुरका १ गरी पाँच वटा उद्योगले ह्याण्ड सेनिटाइजरमा मेथानोल प्रयोग गरेको औषधि व्यवस्था विभागले जनाएको हो। तोकिएको मापदण्डविपरीत विषाक्त रसायन पाइएकाले यी स्यानिटाइजर तत्काल उत्पादन तथा बिक्री वितरण गर्ने संस्थालाई स्यानिटाइजर उत्पादन रोक्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ।
मेथानोल विषाक्तताका कारण वाकवाक लाग्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने तथा आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहन्छ। यसका साथै मेथानोलले छालामा समेत गम्भीर असर पुर्याउने, स्नायु प्रणालीमा असर गर्ने लगायतका समस्या हुन्छ।
विभागले भक्तपुरस्थित नेपाल कायाकल्प उद्योगको इन्सटेन्ट ह्याण्ड सेनिटाइटर, काठमाडौंस्थित हाइजीन सोप एण्ड केमिकल प्रा.लिको इन्सटेन्ट ह्याण्ड सेनिटाइजर ओरिजलन, आधार केमिकल्स एण्ड फुड इन्डस्ट्रीको एडभान्स ह्यान्स सेनिटाइजर, सर्च केम कम स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रडक्टको सूर्यमुखी हर्बल प्रडक्टको सूर्यमुखी ह्याण्ड स्यानिटाइजमा मेथानोल भेटिएको हुनाले यी संस्थाको स्यानिटाइजर प्रयोग नगर्न विभागले आग्रह पनि गरेको छ।
