काठमाडौं, २७ भदौं–देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा १२ सय दुईजना कोरोना संक्रमित थपिएका छन्। सधैँझैँ नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्।
थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमण मुक्त भएका छन्। यससँगै कुल डिस्चार्ज हुनेको संख्या ३७ हजार ५५४ पुगेको छ। यो संख्या कुल संक्रमितको ७० दशमलव ६ प्रतिशत रहेको पनि गौतमले बताए।
पछिल्लो २४ घघ्टामा १० हजार १७६ पिसिआर परीक्षण गरिएको छ। आजसम्मको तथ्यांकअनुसार देशभरमा १५ हजार २६० सक्रिय संक्रमित छन्। होम आइसोलेसनमा बस्नेहरूको कुल संख्या ६ हजार १५३ छ।
