अनिलदेब राई चन्द्रडाँगी (शिबसताक्षी), २७ भदौ–कृषकहरू आ–आफ्नो रोजाईमा थरिथरिका बीउ छनौट गर्छन् । थरिथरिका बीउहरु बजारमा उपलब्ध हुँदैन । परम्परागत रूपमा कृषकहरूले आफ्नै घरमा धेरै किसिमका बीउ आफैंले जोगाएर राख्ने र नपुग बीउ छिमेकी, आफन्त र साथीभाईबाट साटासाट वा किनबेच गरेर लगाउने चलन थियो । यो चलन अझैपनि केही स्थानहरुमा कायमै छ ।

पछिल्लो समय सहर वरपर तथा सुगम क्षेत्रका कृषकहरू घरमा बीउ राख्नुको सट्टा बजारबाट खरिद गरेर लगाउने चलन बढ्दो छ । खासगरी, खाद्यान्न तथा पशुपन्छीका लागि आहारा वा दानाको बढ्दो माग अनुसार उन्नत जातका हाइब्रीड बीउ र प्रविधिको विस्तारसँगै बजारबाट बीउ खरिद गरेर लगाउने चलन सुरू भयो । खाद्य सुरक्षाका लागि बीउको व्यावसायिकरण गरिएपछि रैथाने वा स्थानीय जातका बीउ क्रमशः लोप हुनु सुरू भए । उन्नत जात र हाइब्रीड बीउको उपलब्धताले उत्पादन वृद्धिमा टेवा पुर्याउने कुरामा दुईमत छैन । तर, नेपालको हकमा केही अपवाद बाहेक बजारमा उपलब्ध हाइब्रीड बीउ आयातित हुन् ।

बजारबाट बीउ खरिद गरेर लगाउने बढ्दो चलनले एकातिर कृषकहरू बीउमा परनिर्भर बन्दै गईरहेका छन् भने अर्काेतिर रैथाने बीउका साथै बीउ छनोट र भण्डारण गर्ने परम्परागत ज्ञान, सीप र प्रविधि पनि हराएर गईरहेका छन् ।

नेपाल सरकारको तथ्याङ्कले पनि वर्षेनी बीउको आयात बढिरहेको र कृषकहरूको खेतबारीबाट रैथाने बीउ क्रमशः लोप हुँदै गएको देखाँउछ । यो क्रम नरोकिए भविष्यमा सहरी क्षेत्रमा मात्र होइन, गाँउघरका कृषकहरूको भान्सामा पनि ‘के पाक्ने’ भन्ने कुरा बजारले निर्धारण गर्नेछ ।

यसैवीच, झापाको शिबसताक्षी–७ चन्द्रडाँगीमा रैथाने बीउको संरक्षण, त्यसको विकास र प्रवर्दनम काम गरिरहेको कञ्चन जैबिक विविधता तथा विकास समितिले शुक्रबार अन्तरक्रिया कार्यक्रम गरेको छ । सो अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभा सदस्य सांसद लालप्रसाद (एलपी) सावा लिम्बू लगायत स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति जनाएका थिए ।

कञ्चन जैबिक विविधता तथा विकास समितिकी उपाध्यक्ष नरमाया कार्कीका अनुसार कृषकहरूको खेतबारीबाट रैथाने बीउ क्रमशः लोप हुँदै गएको र त्यसको संरक्षण, विकास र प्रवर्दनमा सघाउँ पुर्याउने उदेश्यले संस्था स्थापना गरिएको हो । समितिकी उपाध्यक्ष कार्कीले आजभोली कृषकहरु उन्नत जात र हाइब्रीड बीउप्रति आर्कषित छन् । उनका अनुसार बजारमा उपलब्ध उन्नत जातका हाइब्रीड बीउहरु आयातित हुन् । यसरी आयत गरिएका बीउहरुसँगै हाम्रो देशको अर्थतन्त्र विदेशतर्फ गइरहेको छ भने बजारबाट ल्याइएका बीउहरु राम्रो नहुदाँ उम्रिन नसक्ने वा उत्पादन राम्रो नहुने समस्याहरुले कृषकहरु आजित भएका छन्, कार्कीले भनिन् ।

कार्कीका अनुसार समिति मार्फत हाल धानका ७८ वटा रैथाने जातको बीउहरु संरक्षण गरिरहेको र २ कठ्ठा जमिनमा लगाइएको छ । यी मध्ये कालो नूनिया बासमति धान सुचिकृत गरिएको छ । कालो नूनिया धान ७ बिद्या जमिनमा लगाइएको छ, कार्कीले भनिन्ः यसैवर्षदेखी कालो नूनिया धानको चामल बजारमा ल्याउने तयारी हुदैछ । यी सवै जमिन भाडामा सञ्चालन भइरहेको कार्कीले बताईन् ।

कालो नूनिया धान प्रति केजी ९० रुपैया र चामल प्रतिकेजी १२५ रुपैयामा प्याकेट उपलब्ध गर्नेगरी बजारमा ल्याइने छ । यो चामल सुगर पीडितहरुले पनि खान सक्ने छ । झापामा कोच समुदायले धेरै प्रयोग गरिने गरेको कालो नूनिया लोप हुने अवस्थामा पुगेको थियो ।

त्यसोत, समिति मार्फत सामुदायिक वीउ बैंक समेत स्थापना गरेको कार्कीले जनाईन् । उनका अनुसार सो बैंक मार्फत यसवर्ष मात्र २ सय केजी रैथाने जातको धानका वीउ कृषकहरुलाई विक्री वितरण गरिएको छ । यसवर्ष लगातारको लकडाउनले भारतबाट आयत धानका वीउहरुमा कम भएपछि वीउ बैंकमा धानका वीउ खरिद गर्नेहरुको संख्यामा बृद्धि भएको छ । त्यस्तैं, आगामी आर्थिक वर्षदेखी कृषकहरुलाई सहज ढंङ्गबाट सुपथ मूल्यमा वीउ उपलब्ध गराइने कार्कीले जानकारी गराईन् ।

सो अवसरमा संघीय संसाद सावाले कृषितर्फ नेपाल सरकार र प्रदेश सरकार र स्थानीय सरकारले नीतिगत कार्यक्रमसहित योजना र बजेट ल्याइरहेको बताए । उनले रैथाने जातका वीउहरु संरक्षण गर्दै त्यसको विस्तारमा लागि परेको संस्थालाई आफ्नोतर्फबाट सकारात्मक ढंङ्गले सहयोग हुने बताए ।

यता, प्रदेश सांसद दर्लामीले कृषकहरु भारतीय बजारका धानका वीउहरु खरिद गरेर खेतबारीमा लगाउने चलन बढ्दै गरेको अवस्थामा रैथाने जातको धानका वीउहरु खरिद गरेर लगाउन उत्प्रेरित गर्न जरुरी रहेको बताए । उनले बढ्दो प्रविधिसँगै आधूनिकताले मानिसहरु परम्परागत खेती गर्न छाड्दै छन् तर यहाँको माटो र वातबरण अनुसार उत्पादन बृद्धिमा समेत राम्रो हुन सके रैथाने जातका वीउहरु प्रयोग गर्न कृषकहरुलाई आग्रह गरे ।

चन्द्रडाँगीस्थित वडा कार्यालयमा रहेको समितिको कार्यालयमा आयोजित कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष डिल्लि पौडेलले गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *