पर्वत, २७ भदौं–अहिलेको सामान्य अवस्थामा मानिसको मृत्यु हुँदा त शवलाई ढुक्क भएर व्यवस्थापन हुन नसकिरहेको बेलामा पोखरामा भने लापरबाही पनि सीमा नाघेको छ। कास्कीको पोखरा महानगरपालिका-५ मालेपाटन घर भएकी ४५ वर्षीया महिलाको भदौ २५ गते बिहीबार राति सवा १ बजे फिस्टेल हस्पिटलमा मृत्यु भयो। अस्पतालले भने कोरोना परीक्षणको रिपोर्ट नआउँदै आफन्त र अस्पताल दुवैले शवलाई उम्काउन खोज्दा पोखराका सामान्यदेखि उच्च तहका व्यक्तिहरू नै जोखिममा परेका छन्। क्यान्सरबाट ग्रस्त उनलाई २४ गते उपचारका लागि फिस्टेलमा भर्ना गरिएको थियो।

सोही दिन नै स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइएको थियो, तर स्वाब नतिजा नआउँदै २५ गते राति आइसियुमा उनको मृत्यु भयो। उपचार क्रममै मृत्यु भएकोमा विश्वस्त हुँदै परीक्षणको रिपोर्ट नै नआउँदै आफन्तले हतारमै शव मागे, अस्पतालले पनि आफन्तलाई दाहसंस्कारका लागि शव बुझायो। २६ गते पोखराकै रामघाटमा महिलाको दाहसंस्कार भयो। तर ,स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शनिबार बिहान ती महिलामा सङ्क्रमण रहेको पुष्टि गरिदियो।

झन्डै २ सयको संख्यामा मलामी उपस्थित भएर दाहसंस्कार गरिसकेपछि सङ्क्रमणको पुष्टि हुँदामा मलामी बनेर गएकाहरू त्रासमा परेका छन्। मृतक महिला पोखराका अग्रज पर्यटन व्यवसायीको श्रीमती भएका कारण पनि मलामी जानेहरूमा पर्यटन व्यवसायी, सांसद, जनप्रतिनिधि, पत्रकार, शुभचिन्तक लगायत गरी धेरै थिए।

पोखरा महानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त न्यौपानेले भने आत्तिइहाल्नुपर्ने अवस्था नरहेको बताउँदै मलामी गएका सबै जनाको स्वाब परीक्षण पनि गर्नु नपर्ने बताए। ‘मलामी जाँदैमा सबै जना शवको सम्पर्कमा गएको भन्ने हुँदैन। हामी पनि मलामी त गएका हुन्छौँ। तर शवलाई छुने र त्यससम्बन्धी काम गर्ने एउटा कोर टिम हुन्छ। सबै छोइएको त हुँदैन,’ उनले भने, ‘उनमा सङ्क्रमण पुष्टि भएपछि आज बिहानै सहभागी भएकाको खोजी गरेर स्वाब सङ्कलनका लागि लिस्ट तयार पारिसकेका छौँ। त्यो लिस्टमा त्यही कोर टिममा रहेकाको नाम छ।’ सबैको स्वाब सङ्कलन नहुने भए पनि मलामी गएकालाई होम क्वारेन्टाइनमा बस्न भनिसकिएको पनि पौडेलले बताए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *