ओखलढुंगा, २७ भदौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (साविक राणा समूह) का जिल्ला अध्यक्ष जगत प्रसाद लुईटेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। लुइँटेल राप्रपा राणा समूहमा लामो समयदेखि जिल्ला नेतृत्वमा थिए। उनले प्रवेश कार्यक्रममा राप्रराबाट परिवर्तन र मुलुकको समृद्धि सम्भव नरहेकाले राजनीतिको मूलधारमा आफू आएको बताए। उनीसहित राप्रपाका क्षेत्रीय सदस्य देवेन्द्र खत्री र चम्पादेवीको कालिका गाउँ कार्यसमति नेकपामा प्रवेश गराइएको छ।
यसअघि राप्रपाको एक घटक सिंगो कमिटी नै नेपाली कांग्रेसमा प्रवेश गरेको थियो। योसँगै राप्रपामा जिल्लामा कुनै आधिकारिक कमिटी छैन। नेकपाको गाउँ कमिटीको बैठकपछि उनलाई नेकपा प्रवेश गराइएको नेकपाका जिल्ला सचिवालय सदस्य तीर्थ सुवेदीले जानकारी दिए।
लुइँटेल २०५४ सालको स्थानीय चुनावमा तत्कालीन नेकपा एमालेका तर्फबाट साविक कालिका गाविसको गाविस अध्यक्ष समेत निर्वाचित भएका थिए। राजाको शासन कालमा उनी राप्रपा प्रवेश गरेका हुन्। उनी मूल घरमा फर्केको उचित जिम्मेवारी दिइने नेकपाका नेता सुरेश थापाको भनाइ छ। उनी प्रवेश गरेको भीडसहितको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेपछि कोरोनाको महामारीमा पार्टी प्रवेश गराएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचनासमेत भएको छ।
पछिल्लो समय ओखलढुंगामा पार्टी प्रवेश कार्यक्रमले चुनाव आएको झल्को दिएको छ।
