काठमाडौं, २७ भदौं–अरुणाचल प्रदेशको चीनसँगको सीमाबाट अपहरणमा परेको भनिएका पाँच भारतीय नागरिकलाई चिनियाँ सेनाले छाडेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार हाल उनीहरुलाई भारतीय सेना समक्ष हस्तान्तरण गरिएको छ । उनीहरुलाई १४ दिन क्वारेन्टिनमा राख्ने तयारी गरिएको छ ।
केही समय अगाडिदेखि अप्पर सुबानसिरी जिल्ला नजिकको भारत–चीन सीमानजिक सेरा ७ भन्ने क्षेत्रबाट माछा मार्न गएका पाँच भारतीय नागरिक वेपत्ता भएका थिए ।
उनीहरुलाई चिनियाँ सेनाले अपहरण गरेको आशंका गरिएको थियो । हाल तनु बकर, प्रसत रिङलिङ, नागरु दिरी, दोङ्तु इबिया र तोच सिंगकाम नाम गरेका भारतीयलाई चिनियाँ सेनाले छाडेका हुन् ।
रुसमा भारत र चीनका विदेशमन्त्रीस्तरीय वार्ता सकारात्मक भएपछि चिनियाँ सेनाले भारतीय नागरिक छोडिदिएका हुन् । रुसमा भएको छलफलमा भारत र चीन दुवैले तनाव साम्य गर्ने सहमति गरेका छन् । एजेन्सी
