काठमाडौं, ३१ भदौं–नेपाली राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्न तीन देशले प्रस्ताव गरेका छन् । तीनवटै देशले नेपालमै मैत्रीपूर्ण खेल खेल्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रस्ताव गरेको जनाइएको छ ।
एन्फा प्रवक्ता किरण राईले बंगलादेश, मंगोलिया र डोमिनिकबाट मैत्रीपूर्ण खेलका लागि प्रस्ताव आएको बताए । उनले यसअघि पनि थुप्रै प्रस्ताव आइरहे पनि पछिल्लो एक सातामा यी तीन देशले नेपालमै खेल्न प्रस्ताव गरेको जानकारी दिए ।
प्रवक्ता राईले प्रशिक्षणको अनुमति नभएका बेला मैत्रीपूर्ण खेलको प्रस्तावले खासै फरक नपर्ने बताए । उनले नेपाली फुटबलका लागि प्रहिलो प्राथमिकता प्रशिक्षण सुरु गर्नु रहेको बताए । उनले सरकारले प्रशिक्षणको अनुमति दिए नेपालमै मैत्रीपूर्ण खेल गराउन एन्फा तयार रहेको बताए ।
“पहिलो कुरा त प्रशिक्षणको हो । हामीले अहिलेसम्म प्रशिक्षण गर्न पाउने अनुमति पाएका छैनौं । पहिला सरकारले प्रशिक्षणको अनुमति देओस्,” एन्फा प्रवक्ता राईले भने, “प्रशिक्षणको अनुमति पाए स्वास्थ्य समाधानका उपाय अपनाएर प्रशिक्षण गराउन तयार छौं । त्यसपछि स्वास्थ्य सुरक्षा अपनाएर मैत्रीपूर्ण खेल पनि गराउन तयार छौं ।”
प्रवक्ता राईले पहिला प्रशिक्षण र मैत्रीपूर्ण खेलका लागि सहज वातावरण बनाउन आग्रह गरेका छन् । प्रशिक्षण र मैत्रीपूर्ण खेल गर्न वातावरण मिलाइदिन भन्दै बुधबार एन्फा अध्यक्ष शेर्पा र उपाध्यक्ष शिक्षित पराजुलीले राखेप सदस्य-सचिव रमेशकुमार सिलवालसँग भेट गरेका थिए । भेटमा सदस्य-सचिव सिलवालले राष्ट्रिय टोलीको प्रशिक्षणका लागि कार्यविधि बनाउन निर्देशन दिएका थिए ।
