एजेन्सी, ३१ भदौं–जर्मन बुन्डेसलिगा फुटबलको नयाँ सिजनमा दर्शक प्रवेशमा अनुमति दिने भएको छ । शुक्रबारबाट सुरु हुने लिगका खेलमा सिमित दर्शकलाई खेल हेर्न स्टेडियममा प्रवेश अनुमति दिइने बताइएको छ ।
बुन्डेसलिगाका खेल हेर्न अब स्टेडियनको क्षमताको २० प्रतिशत दर्शकले प्रवेशको अनुमति पाउने भएका छन् । यसका लागि जर्मनी सरकार र बुन्डेसलिगाका १८ क्लबबीच सम्झौता भएको छ ।
जर्मनीमा कोरोना संक्रमितको संख्या घट्दै गएपछि जर्मनी सरकारले दर्शकलाई स्डेडियममा प्रवेश दिन सहमत भएको हो । सरकारले दर्शकलाई स्टेडियममा प्रवेश अनुमति दिएपनि स्वास्थ्य सुरक्षाको प्रोटोकलको पूर्ण पालना गर्नुपर्ने शर्त राखेको छ ।
यससँगै नयाँ सिजनको पहिलो खेलमा १५ हजार दर्शकहरुको उपस्थिती रहने विश्वास गरिएको छ । बुन्डेसलिगाको पहिलो खेलमा लिग च्याम्पियन बायर्न म्युनिखविरुद्ध साल्के मौदनमा उत्रिने छ । यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः१५ बजे सुरु हुनेछ ।
