काठमाडौं, १ असोज–राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी छन्। उनलाई राष्ट्रपति भण्डारीले बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन्।
यही सोमबार बसेको मन्त्रिपरिषद बैठकबाट गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरिएको थियो। उक्त सिफारिस बुधबार राष्ट्रपतिको कार्यालयमा दर्ता भएको थियो। ‘मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुभएको छु, राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले भने, ‘मनोनयनको सूचना आजै संसद सचिवालयमा पठाउँदैछौँ।’
नेकपाको भदौ १८ गते बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो। उक्त पद फागुनमा नै अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिएपछि रिक्त थियो। प्रधानमन्त्री ओली खतिवडालाई नै निरन्तरता दिनुपर्ने पक्षमा थिए।
यसअघि पनि नेकपाले फागुन १४ गते बसेको सचिवालय बैठकले राष्ट्रियसभामा पठाउने निर्णय गरिसकेको थियो। बर्दियामा प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन हारेपछि उपाध्यक्ष गौतम राष्ट्रपतिले मनोनयन गर्ने कोटाबाट संसद भवन प्रवेश गर्न लागेका हुन्। उनले राष्ट्रियसभा हुँदै सिंहदरबार प्रवेशको चाहना राखेका छन्।
