विराटनगर, १ असोज–प्रदेश १ मा पछिल्लो एक महिनाको अवधिमा ३ हजार ९० जना कोरोना संक्रमित थपिएका छन्। भदौ महिनाको यो अवधिमा दैनिक १ सय ३ जना संक्रमित थपिएका छन्। साउन ३० सम्मको अवधिमा प्रदेश १ मा २ हजार १० जनामा संक्रमण पुष्टि भएको थियो। भदौ ३१ सम्म आइपुग्दा प्रदेशमा कुल संक्रमितको संख्या ५ हजार एकसय पुगेको छ।

भदौको अन्तिम दिन बुधबार मात्र प्रदेश १ मा १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश १ मा १४ साउनसम्ममा जम्मा संक्रमितको संख्या ९७५ संक्रमित रहेको थियो। त्यसबीचको १६ दिनमा प्रदेशमा १ हजार ३५ जना संक्रमित थपिएको देखिन्छ। पहिलो पटकको लकडाउन खुलेसँगै प्रदेश १ मा समुदायस्तरमा कोरोना संक्रमण देखिएको थियो।

विषेशगरी मोरङ जिल्ला त्यसमा पनि सबैभन्दा बढी विराटनगर प्रभावित बनेको थियो। अहिले पनि कोरोनाको हटस्पटका रूपमा नै विराटनगर रहेको छ। कोरोनाको जोखिम कम भएको भन्दै सरकारले ७ साउनबाट लकडाउन अन्त्यको घोषणा गरेको थियो। तर, प्रदेश १ को राजधानी विराटनगरमा भने सोही दिनदेखि कोरोना समुदायमा पुगेको निष्कर्ष महानगरले निकालेको थियो।

साउनको १४ सम्म आइपुग्दा प्रदेश राजधानी विराटनगरमा जम्मा ६० जना मात्र संक्रमितको संख्या रहेको थियो। तर अहिले भदौ ३१ सम्म आइपुग्दा त्यो संख्या बढेर १ हजार ९६४ पुगेको छ। साउन १५ देखि भदौ ३१ सम्मको यो अवधिमा विराटनगरमा मात्र १ हजार ९०४ जना संक्रमित थपिएका छन्। जुन दैनिक थपिने संक्रमितको संख्या सरदर ४२ रहेको छ। साउन १४ सम्मको अवधिमा विराटनगमा पुष्टि भएको आधाभन्दा बढी संक्रमितहरु ट्राभल हिस्ट्री नभएकाहरु रहेका थिए। सो समयमा सबैभन्दा बढी २४ जना प्रहरी सुरक्षाकर्मी र ९ जना स्वास्थ्यकर्मीमा संक्रमण भएको पाइएको थियो। संघीय सरकारले गत साउन ६ गतेबाट लकडाउन हटाएसँगै मानिसको आवत–जावतमा खुकुलोपन आएपछि विराटनगरमा कोरोना संक्रमित बढेको हुँदा महानगरपालिकाले नै साउन १० गतेबाट तीन सातासम्म लकडाउन गर्‍यो।

महानगरले लकडाउन हटाएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेर मानिसको बढ्दो गतिविधिलाई नियन्त्रण गर्ने प्रयास गर्‍यो। र पनि संक्रमण भने विराटनगरमा कम हुन सकेको छैन। प्रदेश १ मा झापा, मोरङ र सुनसरीमा संक्रमित बढी छन्।

बढदो मृत्युदर

प्रदेश एकमा पछिल्ला दिनमा आएर संक्रमितको मृत्युदर बढेको छ। जसमा ४५ दिनमा ५३ जनाको मृत्यु भएको छ। २० भदौदेखि ३१ भदौसम्म आइपुग्दा १२ जनाको मृत्यु भएको छ। साउन १५ देखि भदौ २० सम्मको अवधिमा संक्रमितको मृत्यु हुनेको संख्या ४१ रहेको थियो। यसमा १२ जना प्रदेश २ का रहेका छन्।

संक्रमितहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,कोशी अस्पताल,कोशी कोभिड १९ उपचार केन्द्र,नोबेल मेडिकल कलेज,विराट मेडिकल कलेजका साथै मेची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

प्रदेश नम्बर एकमा पहिलो पटक गएको साउन १५ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्तिठानमा मोरङ सुनवर्सी गाउँपालिका ८ का ४५ वर्षीय एक पुरुषको मृत्यु भएको थियो। संक्रमित पुरुष मृत्यु भएको प्रदेशमा पहिलो केस थियो।

यो अवधिमा सबैभन्दा बढी प्रतिष्ठानमा उपचाररत २८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *