विराटनगर, १ असोज–कोरोनाको संक्रमणको दर बढेसँगै युवा अवस्थाका मानिसमा सबैभन्दा बढी संक्रमणको दर उच्च देखिएको छ। सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार कुल ३ हजार २१६ संक्रमितमध्ये ३५ दशमलव ५ प्रतिशत अर्थात् १ हजार १०८ जना संक्रमित रहेका छन्।
त्यसैगरी, ३१ देखि ४० वर्ष उमेर समूहका ७ सय ८२ जना रहेका छन्। यो उमेर समूहमा २४ दशमलव ७४ प्रतिशत संक्रमित रहेका छन्। ४१ देखि ५० वर्ष उमेर समूहमा संक्रमण दर १३ दशमलव २६ प्रतिशत रहेको छ। संक्रमिति संख्या ४ सय १९ रहेको छ। ११ देखि २० वर्ष उमेरका ४ सय १० जना संक्रमित रहेका छन्। उनीहरुमा संक्रमणको दर १२ दशमलव ९७ प्रतिशत रहेको छ। ५१देखि ६० वर्ष उमेर समूहमा ७ दशमलव १२ प्रतिशत अर्थात् २सय २५ संक्रमित छन।
शून्यदेखि १० वर्ष उमेर समूहका ८६ जनामा कोरोना संक्रमण देखिएको छ। प्रतिशत दर भने २ दशमलव ७२ प्रतिशत छ। ६१ देखि ७० उमेर समूहका मानिसमा संक्रमण दर २ दशमलव ६९ प्रतिशत अर्थात् ८५ जना संक्रमित छन्। ७१ माथिका १ दशमलव ४९ प्रतिशत अर्थात् ४७ जना मानिस संक्रमित छन्। प्रदेश एकमा दुई साताअघि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ९१ वर्षीया एक वृद्धाले कोरोना जितेर घर फर्किएकी थिइन्।
प्रदेशमा २ हजार बढी डिस्चार्ज पाँच हजार १ सय संक्रमितमध्ये बुधबारसम्म २ हजार १९४ जना संक्रमणमुक्त भएका छन्। एक हजार होम आइसोलेसनमा बसेका छन्। प्रदेश १ को झापा, मोरङ र सुनसरीमा संक्रमित बढी छन्। मन्त्रालयका अनुसार मोरङमा संक्रमितको संख्या २ हजार ३५४ छ।
विशेष गरी तराईका जिल्लाहरु सुनसरीमा १ हजार ४०५, झापामा ७६५, उदयपुरमा १२७ जनामा संक्रमण देखिएको छ। प्रदेश १ मा ४ बैशाख पहिलो पटक कोरोना संक्रमण देखिएको थियो। ४ वैशाखमा उदयपुरको त्रियुगा नगरपालिका– ४ भुल्केमा रहेका १२ जनामा संक्रमण देखिएको थियो। ३२ साउनसम्म २ हजार १० जनामा संक्रमण देखिएको थियो। सो अवधिसम्म ६५ हजार ९३३ जनाको पिसिआर जाँच भएको थियो।
भदौ महिनामा मात्रै ४६ हजार १३० जनाको पिसिआर जाँच गराएको मन्त्रालयले जनाएको छ। हालसम्म प्रदेश १ मा विराटनगरको कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र मेची अस्पताल झापामा पिसिआर जाँच हुँदै आएको छ। प्रदेशमा जम्मा १ लाख १२ हजार ६३ जनाको पिसिआर परीक्षण गरिएको छ।
कोरोना जाँच गरिएकामध्ये ६ दशमलव ७ प्रतिशतको पिसिआर रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।
