काठमाडौं, ३ असोज–अभिनेता दयाहाङ राई हाब्रे (रेड पाण्डा) संरक्षण दूत नियुक्त भएका छन् । रेड पाण्डा नेटवर्कले अभिनेता राईलाई संरक्षण दूत नियुक्त गरेको हो । राईले अब दुर्लभ वन्यजन्तु हाब्रे (रेड पाण्डा) को संरक्षण र अवैध चोरीसिकारी विरुद्धमा जनचेतना अभियान कार्यक्रममा सहभागी हुनु पर्नेछ ।

“हामी नेपालका एक प्रसिद्ध कलाकार दयाहाङ राईसँग रेड पाण्डा संरक्षणको कार्यमा सहकार्य गर्न पाउँदा अत्यन्तै हर्षित छौं । यस सहकार्यको माध्यमवाट रेड पाण्डा संरक्षणको आवाजलाई आम जनमासमा पुर्याउँन हामी सफल हुनेछौं भन्ने कुरामा म विश्वस्त छु,” रेड पाण्डा नेटवर्कका निर्देशक आङ फूरी शेर्पाले जारी गरको विज्ञप्तिमा भनिएको छ ।

अभिनेता दयाहाङ राईले रेड पाण्डा नेटवर्कको संरक्षण कार्यमा सम्मिलित हुन पाउँदा आफू उत्साहित भएको बताएका छन् । “म पूर्वी नेपालको ग्रामीण परिवेशमा हुर्किएँ । मेरो वाल्यकाल प्रकृतिको सामिप्यतामा बित्यो तर मलाई हाम्रो क्षेत्र यति सुन्दर जनावरले सुशोभित छ भन्ने कुराको हेक्का कहिल्यै भएन,” जारी विज्ञप्तिमा भनिएको छ, “हाम्रो राष्ट्रको प्राकृतिक सम्पदाको रुपमा रहेको यस जनावरको संरक्षणमा आफूलाई सामेल गराउन पाउँदा म गौरवान्दित छु । म आफ्नो तर्फवाट यस जनावरको संरक्षणमा योगदान दिन अथक प्रयत्न गर्नेछु ।” ।

‘हाईवे’ र ‘ह्वाईट सन’ राईका अन्तराष्ट्रिय रुपमा सफल चलचित्रहरु हुन् । उनले अभिनय गरेका ‘कवड्डी कवड्डी’ र ‘लुट’ व्यवसायिक रुपमा सफल चलचित्र हुन् । राईले ‘दासढुंगा’, ‘सम्बोधन’ र ‘कवड्डी कवड्डी’ का लागि तीनवटा राष्ट्रिय अवार्ड पाइसकेका छन् । मण्डला थिएटरका संस्थापक मध्येका एक राई थिएटरबाट रजतपटमा भित्रिएका कलाकार हुन् । उनी अहिले पनि नाटकमा सक्रिय छन् ।

तस्बिरः रेड पाण्डा नेटवर्क

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *