बर्दिया, ७ असोज–बर्दियाको ठाकुरबाबा नगरपालिका-२ कर्मलाकी ५८ वर्षीया बन्धरा कामी स्तन क्यान्सरले थलिएकी छिन्‌। तर आर्थिक अभाव हुँदा अहिलेसम्‍म उपचार पाउन सकेकी छैनन्‌।​ प्रारम्भिक जाँचबाट उनलाई स्तन क्यान्सर भएको चिकित्सकले जनाएका छन्। वर्षदिन अघि बन्धराको स्तनमा घाउ देखिएको थियो। समयमै उपचार नपाउँदा त्यो घाउले अहिले क्यान्सरको रूप लिएको छ। उपचार खर्चको अभावमा उनी अस्पताल समेत जान सकेकी छैनन्।

सुकुम्बासी बस्तीमा सानो टहरोबाहेक उनसँग अन्य सम्पत्ति पनि छैन। उनका सन्तान पनि छैनन्। श्रीमान सामुदायिक वनका चौकीदार हुन्‌। श्रीमानको सामान्य कमाईबाट परिवारको छाक जेनतेन टरेको छ। क्यान्सरको उपचारका लागि खर्च जुटाउने कुनै उपाय आफूसँग नरहेको बन्धराले बताएकी छिन्‌। श्रीमान-श्रीमतीले निकै तनाव भोगिरहेका छन्‌। ‘साँझविहान जेनतेन हातमुख जोडिरहेका थियौं, यस्तो विपद् आइपर्‍यो।

उपचारका लागि खर्च जुटाउने कुनै उपाय नै छैन। अब त रोग र भोक दुबैले मरिने भइयो,’ क्यान्सर पीडित बन्धराले भावुक हुँदै भनिन्, ‘घाउ बढ्दै गएको छ। उपचार गर्ने कुनै उपाय नै छैन। मृत्यु कुरेर बस्नु परेको छ।’ क्यान्सर पीडित बन्धराको पीडामा मल्हम लगाउन स्थानीय २ जना युवा आर्जन रिजाल र जेनिश थापाले ‘क्यान्सर पीडित आमा बचाऔँ अभियान’ चलाएका छन्। तर अभियान चलाउँदा पनि क्यान्सर रोगको उपचारमा लाग्ने खर्च जुटाउन मुस्किल परेको अभियानका युवा आर्जन रिजालले बताए।

अभियानबाट रकम संकलन गरी उनीहरूले एक महिनाअघि बन्धरालाई क्यान्सर अस्पताल भरतपुर चितवनसम्म पुर्‍याएका थिए। त्यहाँ पहिलो चरणको चेकजाँच मात्र भएको युवा आर्जनले बताए। चिकित्सकले तत्काल केमो थेरापी पद्धतिबाट उपचार गरी अप्रेशन गर्नुपर्ने बताएका छन्‌। चिकित्सकले वृद्धाको स्तन क्यान्सर दोस्रो चरणमा पुगेको बताएको अभियानका युवा जेनिश थापाले बताए। उपचारका लागि रकम बढी लाग्ने भएकाले क्यान्सर पीडित आमा बचाऔँ अभियानमा सहयोग गर्न युवाहरूले आह्वान गरेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *