विराटनगर, ७ असोज–प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ९५० पुगेको छ । बुधबार विभिन्‍न आइसोलेसन केन्द्र र अस्पतालबाट २७ जना डिस्चार्ज हुँदा ९१ जना नयाँ संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार मारवाडी सेवा सदन आइसोलेसन विराटनगरबाट १३, झापाको मेची अस्पतालबाट ७, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ५, काली सदन आईसोलेसन विराटनगर र कोभिड १९ आईसोलेसन अस्पताल, गोठगाउँबाट एक एक जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६१९ पुगेको छ ।

जबकी आइसोलेसन र अस्पतातलमा उपचार रहने संक्रमितको संख्या ३ हजार ३३१ पुगेको छ । लकडाउन खुलेसँगै प्रदेश १ का तराईका जिल्ला खासगरी झापा, मोरङ र सुनसरीमा संक्रमित थपिने क्रम अत्यधिक बढेको छ । प्रदेश राजधानी विराटनगरमा सबैभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । प्रदेश १ को पछिल्लो तथ्यांकअनुसार कोरोना ठिक भइ घर फर्किने दर विगत एक महिनामा घटेको छ ।

प्रदेश १ मा बुधबार ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४२, सुनसरीमा ३७, झापामा चार, पाँचथरमा दुई, ताप्लेजुङ र तेर्हथुममा एक एक र प्रदेश १ बाहिरका चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ११ महिला र १३ पुरुष, पथरीशनिश्चरेमा ३ महिला र ३ पुरुष, जहदामा ३ महिला र ३ पुरुष, सुन्दरहरैचामा १ महिला र २ पुरुष, ग्रामथान, कटहरी र मिक्लाजुङमा १-१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको इटहरीमा २४ महिला र ७ पुरुष, दुहवीमा २ महिला र २ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको गौरादहका १ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, पाँचथरको फालेलुङमा २ पुरुष, ताप्लेजुङमा १ पुरुष, तेर्‍हथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला र २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ८०८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४६ महिला र ४५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म एक लाख १८ हजार ६९६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *