दुधे, ७ असोज–संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले आज झापाको दुई कृषि फार्मको स्थलगत अध्ययन तथा अन्तक्रिया कार्यक्रममा सहभागिता जनाएका छन् । शिबसताक्षी–११ दुधेस्थित सतासी महिला माहुरी पालन सहकारी संस्थाद्धारा सञ्चालित माहुरी कृषि फार्म र शिबसताक्षी–७ चन्द्रडाँगीस्थित कृषि दुग्ध विकास तथा वीउवीजन केन्द्रद्धारा सञ्चालित फार्मको स्थलगत अध्ययन तथा सरोकारवालाहरुसँग अन्तक्रिया गरेका छन् ।
दुधेस्थित सतासी महिला माहुरी पालन सहकारी संस्थाद्धारा मह उत्पादन र महको बजारीकरण सम्बन्धी मन्त्री भुषालले जानकारी लिएका थिए । मह उत्पादनमा देशमा अब्बल संस्थाको रुपमा परिचित सतासी महिला पालन सहकारी संस्थाले आधूनिक प्रविधिसहित माहुरी पालनमा कृषकहरुलाई गरिरहेको आर्कषण र तालिम, गोष्ठी र सहजिकरणमा गरिरहेको योगदानको मन्त्री भुषालले धन्यवाद ज्ञापन गरेका थिए ।
त्यस्तै, शिबसताक्षी नगरपालिकामा रहेको झापाकै ठूलो कृषि फार्मको रुपमा परिचित चन्द्रडाँगी कृषि दुग्ध विकास तथा वीउ वीजन केन्द्रमा मन्त्री भुषालले त्यहाँको जमिनको क्षेत्रफल, भौतिक संरचना, माछा, गाई, गोरु, बाख्रा, बोका लगायत अन्य अन्त सम्बन्धीका वीउ वीजनको बारेमा फार्मका प्रतिनिधिहरुबाट जानकारी लिनुका साथै त्यसलाई सञ्चालनका लागि संघीय सरकारदेखी प्रदेश र स्थानीय सरकारका साझा प्रयास र योगदानका बारेमा चर्चा गरेका थिए । उनले कृषि दुग्ध विकास तथा वीउ वीजन केन्द्रलाई आधुनिक प्रयोगशालाको रुपमा स्थापित गर्न स्थानीय तहलाई समेत योजनाका साथ अधि बढ्न निर्देशन दिए ।
कार्यक्रममा कृषि तथा पशु पंक्षि मन्त्री भुषालसँगै प्रदेश १ का भूमि, कृषि तथा सहकारि राज्यमन्त्री राम बहादुर राना मगर, झापा क्ष्ँोत्र नं ४ (क) सांसद झलकसिह दर्लामी मगर, क्षेत्र नं ४ (ख) का सांसद हिरा बहादुर थापा सहभागी थिए । त्यस्तै, सो अवसरमा शिबसताक्षी नगरपालिकाकी प्रशासकीय अधिकृत गीता राई, नेकपा झापा अध्यक्ष चिन्तन पाठक, नगर सचिव धनबहादुर थेबे, नगर कार्यालय सदस्य प्रेम याम्फु राईको उपस्थिती रहेको नेकपाका नेता नेत्र नेम्बाङले हाम्रोसरोकारलाई जानकारी दिए ।

