काठमाडौं, ८ असोज–स्रष्‍टा सम्मान अभियानअन्तर्गत मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित विभिन्‍न पुरस्कारहरुद्वारा ५ महिलासहित ११ स्रष्‍टालाई सम्मान गरिने भएको छ ।

यस क्रममा वर्ष २०७७ सालको कृष्णकुमारी दाहाल शान्ति स्रष्‍टा सम्मान अशेष मल्ललाई, पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्‍टा सम्मान आहुति (विश्वभक्त दुलाल) लाई, राधादेवी दाहाल सद्‍भाव स्रष्‍टा सम्मान नीलम कार्की निहारिकालाई, चन्द्रकला खनाल अहिंसा स्रष्‍टा सम्मान व्याकुल माइला (प्रदीपकुमार राई) लाई, ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्‍टा सम्मान प्रमोद प्रधानलाई र महाप्रसाद रिजाल लोकतन्त्र स्रष्‍टा सम्मान गोविन्दराज विनोदीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

यसैगरी, जोगमाया बराल स्रष्‍टा सौगात ज्ञानुवाकर पौडेललाई, राधादेवी दाहाल स्रष्‍टा सौगात श्रेष्ठ प्रिया पत्थरलाई, भूमिप्रसाद बराल स्रष्‍टा सौगात वसन्ती शाहीलाई, श्रीप्रसाद दाहाल स्रष्‍टा सौगात बालिका चौधरीलाई, श्रीनारायण दाहाल स्रष्‍टा सौगात रेणु गुप्तालाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कृत स्रष्‍टाहरु पाँचजना महिला स्रष्‍टासहित ७ वटै प्रदेशका छन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिका दिन विशेष कार्यक्रम आयोजना गरी जनही २० हजार रुपैयाँ नगद पुरस्कारसहित पुरस्कृत स्रष्‍टालाई सम्मान गर्ने कार्यक्रम रहेको समाजका महासचिव सुशील बस्‍नेतले विज्ञप्तिमार्फत जनाएका छन् । दशक अगाडिदेखि मासिक शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको समाजले साहित्यको आराधना र स्रष्‍टा सम्मानलाई अभियानका रुपमा अघि सारेको हो ।

पुरस्कृत स्रष्‍टाहरुबारेः

-विसं २०११ चैत २१ गते धनकुटामा जन्मिएका स्रष्‍टा अशेष मल्लका ‘सडकदेखि सडकसम्म’ नाटक संग्रहसहित दुई दर्जन कृति र सयौं रचना प्रकाशित भएका छन् । नेपालमा सडक नाटकको जन्मदाताका रुपमा परिचित मल्लले शान्ति, मानव अधिकार, लोकतन्त्र, सामाजिक न्यायका पक्षमा गरि सयभन्दा बढी सडक नाटकको लेखनरनिर्देशन गरेका छन् ।

-२०२४ चैत १ गते काठमाडौंमा जन्मिएका स्रष्‍टा आहुति (विश्वभक्त दुलाल) का ‘नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्ष’सहित पाँच पुस्तक प्रकाशित छन् । सामाजिक न्याय र दलित मुक्तिको आन्दोलनका अथक योद्धा आहुतिका हजारभन्दा बढी लेख रचना विभिन्न सञ्चारमाध्यममा प्रकाशित भइसकेका छन् ।

-२०३१ चैत २७ गते पाल्पामा जन्मिएकी स्रष्‍टा नीलम कार्की निहारिकाका बहुचर्चित उपन्यास योगमाया, चीरहरण, त्रिचालीस कथा (कथा संग्रह) सहित ११ कृति प्रकाशित छन् । ऐतिहासिक विषयमा रुचि राख्ने र इतिहासका पात्रलाई आख्यानमा ढाल्न रुचाउने कार्की उपन्यास र कथाको क्षेत्रमा चर्चित छिन् ।

-२०२९ चैत २५ गते ओखलढुंगामा जन्मिएका नेपालको राष्ट्रिय गानका रचयिता व्याकुल माइला ९प्रदीपकुमार राई० का ‘बीउ अक्षर’ ९बाम्बुले राई भाषामा० सहित दुई कृतिसँगै दर्जनौं रचना प्रकाशित छन् ।

-२०१५ असोज १५ गते विराटनगरमा जन्मिएका स्रष्‍टा प्रमोद प्रधानको ‘नेपाली बाल साहित्यको इतिहास’ लगायत ३२ कृति प्रकाशित भएका छन् । त्यसमध्ये आधा दर्जन बढी कृति समालोचनाका र २१ बाल साहित्य र अन्य कविता संग्रह छन् ।

-२०१० साउन २८ गते कास्कीमा जन्मिएका हाल गैंडाकोट नवलपुरनिवासी स्रष्‍टा गोविन्दराज विनोदी (गिरी) का ‘शूपर्णखा’ खण्डकाव्यसहित दर्जन बढी कृति प्रकाशित छन् । उनले लोकतन्त्र, स्वतन्त्रताको पक्षमा समेत गरी १५ सयभन्दा बढी फुटकर रचना सिर्जना गरिसकेका छन् ।

-२००४ जेठ २२ गते काठमाडौंमा जन्मिएका नेपाली गजलको श्रीवृद्धि र उन्‍नयनमा अग्रणी स्रष्‍टा ज्ञानुवाकर पौडेलका ‘खण्डहर नयाँ नयाँ’ गजल संग्रहसहित पाँच कृति र सयौं रचना प्रकाशित छन् ।

-सुदूरपश्चिमको साहित्यिक गुलाबका रुपमा समेत परिचित श्रेष्ठ प्रिया पत्थरको जन्म २०२१ साउन ७ गते डोटीमा भएको हो । हाल कैलालीको टीकापुरमा बस्दै आएका श्रेष्ठको पतिङ्गर, रंगभूमिलगायत १७ कृति प्रकाशित छन् ।

-२०२५ वैशाख १५ गते बझाङमा जन्मिएकी खर्पुनाथ गाउँपालिका हुम्लाकी स्रष्‍टा वसन्तीकुमारी शाहीको ‘कर्णालीकी बुहारी’ निबन्ध संग्रह, ‘आधा जीवन’ उपन्यास गरी दुई पुस्तक र दर्जनौं रचना प्रकाशित छन् ।

-२०३८ वैशाख ५ गते दाङमा जन्मिएकी बर्दियाकी स्रष्‍टा बालिका चौधरीको ‘जीवनका वक्र रेखाहरु’ नामक पुस्तक थारु र नेपाली भाषामा प्रकाशित हुनुका साथै अंग्रेजीमा प्रकाशोन्मुख छ । चौधरीले थारु भाषामा गीत, कविता लेख्दै आएकि छन् । साथै उनका दर्जनौं लेख रचना प्रकाशित छन् ।

-२०३५ फागुनमा बाराको कलैयामा जन्मिएकी रौतहटनिवासी स्रष्‍टा रेणु गुप्ताको ‘जोगी र चोरी’ (बाल लोककथा संग्रह) प्रकाशित छ । यसका अतिरिक्त गुप्ताले भोजपुरी र बज्जिका भाषामा तीन पुस्तकको अनुवाद गरेकी छन् । बज्जिका भाषाको लोक साहित्य क्षेत्रमा योगदानका लागि परिचित गुप्ताका भोजपुरी बज्जिका र नेपाली भाषामा दर्जनौं लघुकथा, कविता र लेखहरु प्रकाशित भएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *