काठमाडौं, ८ असोज–नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हल्लामात्र भएको जनाएको छ। प्राधिकरणले बुधवार विज्ञप्ती जारी गरी सो कुराको जानकारी दिएको हो। विज्ञप्ती मार्फत् प्राधिकरणले बेलाबेलामा विद्युत आपूर्तिमा आउने अवरोधलाई लोडसेडिङसँग नजोड्न अनुरोध गरेको छ। ‘कारणबस बिजुली जाँदा लोडसेडिङ भनिएको हल्लामा सत्यता छैन,’ प्राधिकरणले स्पष्ट पारेको छ।
विद्युतको प्रशारण तथा वितरण संरचना जमीन माथि ९ओभर हेड०बाट गएकोले प्रतिकुल मौसमका कारण कुनै कुनै स्थानमा विद्युतीय प्रणालीमा समस्या आउने गरेको प्राधिकरणले जनाएको छ।
‘नियमित रुपमा गर्नु पर्ने मर्मत सम्भार तथा प्रणाली सुधार गर्नु पर्दा विद्युत आपूर्ति बिच्छेद गर्नु पर्ने भएकोले यस्तो अबस्थामा विद्युत आपूर्तिमा निर्धारित समयसम्म अवरुद्ध हुने गर्दछ’ विज्ञप्तीमा उल्लेख छ।
आम उपभोक्ताहरुमा थप भरपर्दो र नियमित विद्युत सेवा उपलब्ध गराउन प्राधिकरण प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
