काठमाडौँ, ९ असोज–नेपालमा आज एक हजार ३१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७० हजार ६१४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा एक हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ । देशभरका संस्थागत आइसोलेसन ८ हजार २३७ जना र होम आइसोलेसनमा १० हजार ५२ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ४६४ जना क्वारेन्टिनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार २६७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ६८ हजार १८५ जनाको पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार देशभर ३९ कोरोना संक्रमितको भेन्टिलेटरमा र २२७ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ४५५ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३।४ प्रतिशत रहेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५९ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन भक्तपुर र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने सोलुखुम्बु, मनाङ, रसुवा, मुस्ताङ, डोल्पा, मुगु, हुम्लामा संक्रमण शून्यमा झरेको छ।
