दमक, ९ असोज–झापाको दमकमा शुक्रबार कवि तथा गजलकार स्व.लुङमाहिम काइला (भीम इजम) को गजल संग्रह ‘मिक्वा’ सार्वजनिक भएको छ ।  दमकस्थित होटल एसजीमा आयोजित कार्यक्रममा गजलकार देबी पन्थी र कवि तथा गजलकार सुमित्रा बाङ्देल चेलीले गजल संग्रहको सार्वजनिक गरेका छन् ।

गजल संग्रह ‘मिक्वा’ प्रकाशनको तयारी अवस्थामा कवि तथा गजलकार लुङमाहिम काइलाको ३४ वर्षको उमेरमा केही दिन अघि निधन भएको थियो ।

कवि तथा गजलकार लुङमाहिम काइलाको घर ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकामा पर्दछ । उनी पछिल्लो समय मोरङको पथरी–शनिश्चरेमा बस्दै आएका थिए । उनको दुई छोरा–छोरी र श्रीमती छन् ।

कार्यक्रमको संयोजनकर्ता कवि तथा गजलकार राजकुमार सुब्बाका अनुसार टाँडी कुञ्ज परिवार मिक्लाजुङ मोरङका अध्यक्ष गगन योक्पाङदेनको अध्यक्षतामा गजल संग्रह सार्वजनिक भएको हो । संग्ह सार्वजनिक कार्यक्रममा गजलकार विवस बलिभद्र कोइराला र कवि सुन्दर कुरुपले कवि तथा गजलकार लुङमाहिम काइलाको गजल संग्रह ‘मिक्वा’ माथि चर्चा गरेका थिए ।

त्यस्तैं, कार्यक्रममा गजलकार लोकेन्द्र बन्जारा, कवि मन्जु थेगिम लिम्बू र दिलिप राई सगरले कवि तथा गजलकार लुङमाहिम काइलाको गजल संग्रह ‘मिक्वा’ बाट गजल वाचन गरेका थिए ।

कार्यक्रममा गजलकार कृष्ण उदासी, जीतेन साङपाङ राई, बाटो घरे कान्छा, देशराज नेम्बाङ, कवि विराट किराती, चोमु शेर्पा लगायतका कवि तथा गजलकारहरुको उपस्थिति रहेको थियो ।

संग्रहभित्र ८२ वटा गजलहरु समावेश गरिएको छ । संग्रहको प्रकाशक सीता चोङबाङ इजम हुनुहुन्छ । संग्रहको अवरण चित्र वरिष्ठ कलाकर्मी तथा गजलकार मञ्जुल मितेरी र पत्रकार गणेश साम्पाङले उतारेका छन् ।

सो संग्रह प्रकाशन सहयोगीहरुमा मन्डेम मेन्याङवो (केर्खा झापा), सुशील चेम्जोङ (राजारानी धनकुटा), नविन वनेम (मैवाखोला ताप्लेजुङ), निसास कोहिवो (बुद्धशान्ति झापा), धमेन्द्र बिक्रम तुम्बापो (फिदिम पान्थर) तेज प्रकाश चेम्जोङ (फाल्गुनन्द पाचथर), याम लिम्बू (फाल्गुनन्द पाचथर), बिक्रम इजम (फुङ्लिङ ताप्लेजुङ) र सन्तोष ईजम ( पाथिभरायाङवरक ताप्लेजुङ) छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *