विराटनगर, १० असोज–एकीकृत भन्सार जाँच चौकी र रेल्वे लिक निर्माण गर्दा भारतले अघोषित रूपमा बाँध बनाएपछि मोरङको विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्र डुबानमा परेको छ। सामान्य वर्षाको पानी समेत निकास हुन नसक्ने गरी बाँध बनाउँदा विराटनगर-१३, १४, १५, १६, १७ र १८ वडाका सबैजसो क्षेत्र डुबानमा परेको हो।
वर्षामा जमेको पानी जाने निकास नहुँदा तीन वर्षयता स्थानीयले डुबान समस्या झेल्दै आएका छन्।‘भारतले आइसीपी र रेलेको लिक बिछ्याउँदा ठूलाठूला बाँध बाँध्यो। तर निकासका लागि नाला राखिदिएन,’ विराटनगर महानगरको वडा नं १८ का वडाध्यक्ष राजदेव यादव भन्छन्, ‘निर्माण गर्दा हामीसँग सल्लाह पनि गरिएन।’ विराटनगर-१८ भारतसँग सीमा जोडिएको क्षेत्र हो।
स्थानीयले पटक-पटक आग्रह गर्दा राज्यले नसुनेका कारण आफ्नो वडा डुबानमा परेको अध्यक्ष यादवले बताए। ‘निर्माण गर्दै गर्दा महानगरलाई भन्यौं, प्रशासनलाई गुहार्यौं,’ स्थानीय शम्भुकुमार यादव भन्छन्, ‘हाम्रो कुरा कसैले सुनेन, अहिले डुबान भोग्दैछौं।’ डुबानका कारण खेतीयोग्य जमिन जलमग्न भएको छ। रोपेको धान पनि नष्ट हुने अवस्थामा पुगेको स्थानीयले बताए। भारतले अघोषित रूपमा बनाएको बाँधका कारण विराटनगर १८ का खोक्साहा, समादगी, लावाघाट, भेडीयारी र डाङग्रा टोल बढी डुबानमा पर्ने गरेको छ। बुधनगर क्षेत्रमा डुबानको समस्या धेरै पुरानो होइन।
भारतले ड्याम बनाएपछि तीन वर्ष यतामात्रै स्थानीयले डुबान भोग्न थालेका हुन्। निकास नाला नहुँदा असारको पानी असोजसम्म जमेर बस्छ। ‘यहाँ असोजसम्म डुबान हुन्छ,’ स्थानीय अशोक यादव भन्छन, ‘हाम्रो समस्या कसले सुनिदिनेरु’ किशोर मण्डल बुधनगरमा पसल सञ्चालन गर्दै आएका छन्। उनको पसल डुबानमा परेपछि सडकबाट पसलसम्म पुग्न आफैंले बाँसको पुल बनाएका छन्। ‘मेरो दोकान पहिले डुब्दैन थियो,’ उनले भने, ‘आइसीपीसम्म जाने सडक र रेल्वे लिकको बहानामा ड्याम बनाएपछि पसल डुब्न थाल्यो।’
मेयर भन्छन्ः ‘आइसीपीका नाममा भारतले ड्याम बनायो’
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली भारतले आइसीपी र रेल्वे लिकका नाममा ड्याम बनाएका कारण बुधनगर क्षेत्र डुबानमा परेको बताउँछन्। उनले आइसीपी निर्माण गर्दाको समयमा भारतले सो क्षेत्रका पुल बनाउने ठाँउमा ड्याम बनाएकाले डुबानको समस्या देखिएको बताए। ‘रेल्वेको नाममा बुधनगर क्षेत्रमा ड्याम बनेको छ,’ उनले भने, ‘हामीले निकासका लागि पुल बनाउन भन्दैछौँ, संघीय सरकारले पहल गरेको छैन।’
२५ सय घर परिवार डुबानबाट प्रत्यक्ष प्रभावित
सामान्य वर्षा हुँदा पनि पानीको निकास नहुँदा महानगरका दक्षिणी क्षेत्रका १३, १४, १५, १६, १७ र १८ वडाका २५ सय घर परिवारले डुबानको समस्या झेल्दै आएका छन्।चार वर्षयता आफूहरु बसोबास गरिरहेको क्षेत्र डुबानमा परिरहेको र समस्या समाधान निम्ति सम्बन्धित निकायसँग आग्रह गर्दा चासो नदिएको स्थानीयको गुनासो छ। असोज लागेसँगै शुरू भएको झरीले घर र सडक डुबाएपछि विस्थापित भएका स्थानीयले बिहीबार रानी-विराटनगर सडक खण्डमा चक्काजाम गरेका थिए। स्थानीयबासी सडकमा उत्रिएपछि स्थानीय निकायका प्रमुख प्रभावित क्षेत्रमा पुगेका थिए।
सीडीओ भन्छन्ः ‘केन्द्रमा जानकारी गराइएको छ’
डुबानको अवस्था हेरेका मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले स्थानीयस्तरबाट तत्काल केही गर्न नसक्ने बताउँछन्। ‘बुधनगरलगायत धेरै स्थान डुबानमा छ, अवस्थाबारेमा केन्द्रमा केन्द्रमा जानकारी गराएका छौं,ु उनले भने, ‘आइसीपी उद्योग मन्त्रालयमातहत पर्छ, अध्ययन गर्न प्राविधिक टोली आउला।’ अन्य विषयमा प्रदेश सरकार र स्थानीय सरकारसँग छलफल गरेर समस्या समाधानतर्फ स्थानीय प्रशासन लाग्ने उनले बताए।
