दमक, १० असोज–घुस लिएको अभियोगमा झापाको दमकबाट ४ जना प्रहरी निलम्बनमा परेका छन् । मल व्यवसायीसँग पैसाको लेनदेन गरेको भेटिएपछि एक जना प्रहरी सहायक निरीक्षकसहित हवल्दार, जवान र एक जना ट्राफिक प्रहरी निलम्बनमा परेका हुन् ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी बिजयराज पण्डितका अनुसार बिल बिनाको युरिया मल ल्याउदै गरेको ट्याक्टर दमक ४ स्थित ताराबारी ढाटमा बसेका प्रहरीले गत भदौ २४ गते बेलुका नियन्त्रणमा लिएको थिए । तर, ड्यूटीमा रहेका प्रहरीले माथिल्लो तहमा खबरै नगरि भोलिपल्ट छाडेका थिए ।
दमकका डिएसपीपण्डितले भने, ‘प्रहरीको चेन अफ कमाण्ड उल्लघंन गरेको भनेर निलम्बनमा राखिएको छ, अरु बिस्तृत अनुसन्धानबाट खुल्ने छ ।’
यसरी निलम्बनमा पर्नेहरुमा प्रसनि भरत कोइराला ,हवल्दार शिवचन्द्र मुखिया, जवान भिमलाल चौधरी र ट्राफिक प्रहरी जवान मनकुमार रुचाल रहेका छन् ।उनीहरुले व्यवसायीसंग रु ६५ हजार रुपैयाँ घुस रकम लिएर ट्याक्टर छाडेको आरोप छ ।
