जेनेभा, १० असोज–संयुक्त राष्ट्र संघको ७५ औं महासभामा भारत र पाकिस्तानबीच फेरि जम्मु काश्मीर र आतंकवादको विषयमा विवाद भएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रबारको बैठकमा सम्बोधन गर्दै ती विषय उठाएपछि राष्ट्र संघका भारतीय प्रतिनिधिले प्रत्युत्तर दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार महासभामा सम्बोधन गर्ने कार्यक्रम छ।

शुक्रवार खानले पहिलै रेकर्ड गरिएको भाषणमा जम्मू-कश्मीर विवाद, अल्पसङ्ख्यकहरूसँग हुने व्यवहार र भारतको सत्तारूढ दल भाजपासँग सम्बन्धित सङ्गठन आरएसएसको विषय उठाउँदै भारतको आलोचना गरेका थिए । उनले भारतले कश्मीरमा मानवाधिकार हनन गरेको र सैन्य दमन गरेको आरोप लगाएका थिए ।

त्यसपछि भारतीय राजदूतले पाकिस्तानले लगाएका आरोपको खण्डन गर्दै उल्टै पाकिस्तानले आतंकवादलाई प्रोत्साहन गरेको र आफ्नो देशका अल्पसंख्यक समुदाय र अन्य सम्प्रदायका मुस्लिमसँग अत्याचार गरेको दोषारोपण गरे।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीरको विषय उठाउँदै भनेका थिए, ‘जम्मु काश्मीरको विवाद अन्तर्राष्ट्रिय वैधताका आधारमा समाधान नभएसम्म दक्षिण एशियामा शान्ति र स्थायित्व हुँदैन । सुरक्षा परिषद्ले यो डरलाग्दो विवाद रोक्नुपर्छ तथा ईस्ट टिमोरमा जसरी नै आफ्नो प्रस्ताव कार्यान्वयन गर्नुपर्छ ।’

‘म स्पष्ट पार्न चाहन्छु कि फासीवादी, अधिनायकवादी, आरएसएसको नेतृत्व भएको सरकार यदि पाकिस्तानसँग आक्रामक हुने प्रयास गर्‍यो भने उसले एउटा यस्तो देशसँग भिड्नुपर्नेछ जसले आफ्नो स्वतन्त्रताका लागि अन्तिम समयसम्म संघर्ष गर्नेछ,’ उनले भने ।

खानले जम्मु काश्मीरमा भारतीय संविधानको धारा ३७० खारेज गर्ने निर्णयको पनि आलोचना गरेका थिए । उनले भारतको राष्ट्रिय स्वयंसेवक दल अर्थात् आरएसएसका संस्थापकहरू नाजीबाट प्रेरित भएको आरोप लगाउँदै आरएसएसले मुस्लिम र इसाईँहरूलाई निसाना बनाउने गरेको दाबी गरे ।

भारतले के भन्यो ?

इमरान खानको भनाइको भारतले कडा प्रतिवाद गरेको छ । संयुक्त राष्ट्र संघमा भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले पाकिस्तानी प्रधानमन्त्रीको टिप्पणीलाई ‘राजनीतिक पतन’ को सङ्ज्ञा दिएका छन् ।

उनले खानको भनाइ मिथ्या र व्यक्तिगत आक्रमण भएको भन्दै पाकिस्तानले अल्पसङ्ख्यकहरूको उत्पीडन तथा सीमापार आतंकवाद लुकाउने प्रयासमा त्यसो भनेको दाबी गरे ।

इमरान खानको भाषणको बेला भारतीय मिशनका प्रथम सचिव मिजितो विनितो महासभा छोडेर बाहिरिएका थिए । त्यसपछि भारतको ‘उत्तर दिने अधिकारू प्रयोग गर्दै उनले पाकिस्तानी आरोपहरूको खण्डन गरे ।

मिजितो विनितोले, ‘केन्द्र-प्रशासित प्रदेश जम्मू र कश्मीर भारतका अभिन्न र अविभाज्य अङ्ग हुन्। जम्मू र कश्मीरमा लगाइएका नियम र कानुन पूर्णतः भारतको आन्तरिक मामिला हो। कश्मीरमा केवल एउटा विवाद छ-अहिले त्यो पाकिस्तानको अवैध नियन्त्रणमा छ। हामी पाकिस्तानलाई अवैध नियन्त्रण गरिएको सबै क्षेत्र छोड्न माग गर्छौँ ।’

मिजितो विनितोले पाकिस्तानलाई संकेत गर्दै आतंकवादीहरूलाई पैसा उपलब्ध गराएको आरोप लगाए । ‘जुन नेतालाई हामी आज सुन्यौं उनी तिनै व्यक्ति हुन् जसले ओसामा बिन लादेनलाई आफ्नो संसद्‌मा शहीद भनेका थिए,’ उनले खानप्रति कटाक्ष गर्दै भने । पाकिस्तानले आतंकवादप्रति आफ्नो नैतिक, आर्थिक र भौतिक समर्थन छोडेर मात्र सामान्य राष्ट्र बन्न सक्ने उनको भनाइ थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *