विराटनगर, ११ असोज–प्रदेश १ का अस्पतालमा पीसीआर परीक्षण निम्ति आवश्यक कीट अभाव भएको छ। कीट अभावसँगै प्रदेश सरकारले पीसीआर परीक्षण दरसमेत घटाएको छ। सङ्घीय सरकारबाट रिएजेन्ट केमिकल दुईसातबाट उपलब्ध नभएपछि पीसीआर परीक्षण दर घटाइएको हो।
प्रदेश सरकारले दैनिक २ हजारभन्दा धेरै मानिसको थ्रोट स्वाब नमूना पीसीआर परीक्षण गर्दै आएकामा दुई दिनयता दैनिक पाँच सय हाराहारीमा मात्र परीक्षण गरिरहेको छ। दुई सातादेखि प्रदेशमा पीसीआर परीक्षणका लागि आवश्यक रिएजेन्ट नआएकाले परीक्षण प्रभावित बनेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश नं १ का निर्देशक जयन्द्र यादवले जानकारी दिए। यादवका अनुसार दुई सातायता संघीय सरकारले मौज्दात नै सकिएको भन्दै प्रदेशमा आवश्यक रिएजेन्ट केमिकल पठाएको छैन।
पीसीआर परीक्षणका लागि आवश्यक रिएजेन्ट केमिकल सीमित भएपछि अन्य अस्पतालको प्रयोगशालामा पठाउने गरिएको केमिकलको परिमाण समेत कटौती गरिएको छ। ‘अन्य प्रयोगशालामा साविकमा स्टक रहेको रिएजेन्ट प्रयोग गरी पीसीआर परीक्षण हुँदै आएको छ,’ निर्देशक यादवले भने, ‘केन्द्र सरकारबाट प्राप्त नभएसम्म परीक्षण दर घटाउनुको विकल्प छैन।’ उनले प्रदेश प्रयोगशालाबाट अहिले सबै भन्दा बढी मात्रामा पीसीआर परीक्षण हुँदै आएको छ।
दैनिक सबैभन्दा धेरै पीसीआर परीक्षण गर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कीट अभाव भएपछि परीक्षण नै बन्द गरिएको छ। पीसीआर परीक्षणका लागि आवश्यक पर्ने कीट उपलब्ध नभएपछि प्रतिष्ठानमा गरिँदै आएको पीसीआर परीक्षण बन्द गरिएको अस्पतालले जनाएको छ।
त्यसैगरी कोशी अस्पतालले पनि कीट सकिएपछि सात सय थान कीट खरिद गरेको जनाएको छ। तर त्यो कीट आउने अझै केही दिन लाग्ने भएपछि पीसीआर परीक्षण प्रभावित हुने अवस्था आएको अस्पतालका मेडिकल सुपरिटेण्डेन डा। चुमानलाल दासले बताए।
प्रदेशमा पीसीआर ल्याब ६ वटा भए पनि कोशीको एक, प्रदेश प्रयोगशालाको एक, बीपीको एक, झापाका कनकाई र मेचीका एकरएक वटा मेसिनबाट मात्रै पीसीआर परीक्षण भइरहेको छ। यी ६ वटा ल्याबबाट विगतमा दैनिक २ हजार बढीको परीक्षण हुँदै आएको थियो।
उपचार प्रभावित
पीसीआर परीक्षण नहुँदा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत बिरामीको शल्यक्रियासमेत रोकिएको छ। सिकिस्त बिरामीको शल्यक्रिया गर्नुअघि पीसीआर परीक्षण गर्ने गरिएको थियो। प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले संघीय सरकार र प्रदेश सरकारले कीट नपठाएका कारण पीसीआर परीक्षण बन्द भएको बताए।
मन्त्री भन्छन्ः ताकेता गरिरहेको छु
प्रदेशमा रिएजेन्ट केमिकलको अभावमा पीसीआर परीक्षण प्रभावित भएपछि प्रदेश सरकारले रिएजेन्ट केमिकल तत्काल उपलब्ध गराउन माग गरेको छ। सामाजिक विकासमन्त्री जीवन घिमिरेले रिएजेन्ट केमिकल पठाउन आफूले ताकेता गरेपनि सङ्घीय सरकारबाट रिएजेन्ट केमिकल उपलब्ध हुन नसकेको बताए।
‘संघीय सरकारको स्टोरमा रिएजेन्ट केमिकल सकिएकाले समस्या भइरहेको हामीलाई जानकारी गराइएको छ,’ मन्त्री घिमिरेले भने, ‘तत्कालको अवस्थालाई टार्न रिएजेन्ट केमिकल किन्ने कि भनेर छलफलसमेत भइरहेको छ।’ सङ्घीय सरकारबाट प्राप्त नभएसम्मका लागि रिएजेन्ट केमिकल पूर्तिबारे छलफल गरेर समस्या समाधान गर्नतर्फ प्रदेश सरकार लाग्ने उनले बताए। रिएजेन्ट केमिकल अभावमा प्रदेशमा पीसीआर परीक्षण रोकिने अवस्था भने आउन नदिने उनको भनाई छ।
