काठमाडौं, ११ असोज–रेल र पानीजहाजको महत्त्वाकांक्षी योजना सुनाएर नथाक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै मन्त्रालय बनाउने तयारी गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई टुक्रयाएर भौतिक अलग्गै, यातायात, रेल्वे, पानीजहाज र नदी नियन्त्रण छुट्टै मन्त्रालय बनाउने तयारी गरेको एक स्थायी कमिटी सदस्य दाबी गर्छन् । संविधानमा मन्त्रालयको संख्या २५ भन्दा बढी नबढाउन नमिल्ने बाध्यकारी प्रावधान छ । अहिले १९ वटा पूर्ण र ३ वटा राज्यमन्त्री छन् ।
अर्थमन्त्री युवराज खतिवडा बहिर्गमित भएकाले प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । सहरी विकास भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले सम्हालिरहेका छन् । सूचना तथा सञ्चारमन्त्री पनि प्रधानमन्त्रीकै भागमा छ ।
तीबाहेक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अलग(अलग बनाउने कुरा पनि चलिरहेको छ । मौजुदा मन्त्रालयमा कृषि तथा पशुपन्छी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, ऊर्जा तथा जलस्रोत मन्त्रालय टुक्रयाउन मिल्नेछन् ।
यीमध्ये केही मन्त्रालय टुक्र्याएर २५ वटै बनाउने र आकांक्षीहरूलाई जिम्मेवारी दिन लागिएको स्रोतको दाबी छ । बालुवाटारमा अहिले मन्त्रिपरिषद् बैठक जारी छ । आकस्मिक रूपमा बोलाइएको मन्त्रिपरिषद् बैठकले मन्त्रालय टुक्र्याउने सम्भावना रहेको स्रोतको दाबी छ ।
