काठमाडौं, १८ असोज–प्रधानमन्त्रीको सचिवालयका पाँचजना सदस्यसँगै ६७ जना सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण भएको छ। प्रधानमन्त्रीको सरकारी निवास सुरक्षार्थ तैनाथ ६७ जना सुरक्षाकर्मीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो।
शनिबार आएको रिपोर्ट अनुसार प्रधानमन्त्रीका तीन सल्लाहकारहरु विष्णु रिमाल,डा। राजन भट्टराई र सूर्य थापालाई कोरोना पुष्टि भएको थियो। त्यसैगरी प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना देखिएको छ। यसअघि प्रधानमन्त्री कार्यालयकै फोटो पत्रकार राजन काफ्लेलाई पनि कोरोना देखिएको थियो।
स्रोतका अनुसार शनिबार आएको रिपोर्टमा बालुवाटारको सुरक्षामा तैनाथ नेपाली सेनाका २८ जना, सशस्त्र प्रहरीका १८ जना, नेपाल प्रहरीका २१ जनालाई कोरोना देखिएको छ।
त्यस्तै बालुवाटारभित्रै खटिएका राष्ट्रिय अनुसन्धान विभागका तीनजनालाई पनि कोरोना भएको छ। यससँगै बालुवाटारभित्रै कोरोना संक्रमितको संख्या ७५ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीले पनि ठूलो संख्यामा बालुवाटारमा कोरोना देखिएको बताउँदै विस्तृत विवरण भने खुलाउन चाहेनन्। स्रोतले दिएको जानकारी अनुसार बालुवाटारमै तैनाथ अन्य करिब ५० जनाको रिपोर्ट आइसकेको छैन।
यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सबै भेटघाट बन्द गरेका छन्।
