काठमाडौं, १८ असोज–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका संघीय सांसद सुदन किराँतीले महामारीले गम्भीर आर्थिक संकट सिर्जना गरेका बेला फजुल खर्च रोक्न मन्त्रालय घटाउनु पर्ने बताएका छन् ।
मन्त्रालय फुटाएर भागबण्डाको राजनीतिलाई प्रश्रय दिनु बर्तमान अवस्थामा उचित नभएको किराँतीले बताएका छन् ।
युवाहरुसँगको एक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद किरातीले भने, ‘नेताहरुको गुटगत समीकरण मिलाउन मन्त्रालय नै फुटाउने चर्चा चलिरहेको छ । यो जनताले भरोसाा गरेको पार्टी नेकपाका लागि शोभनीय विषय होइन ।’
उनले थपे, ‘कायम रहेको मन्त्रालयलाई गाभेर १५ मा घटाउने र मन्त्रिपरिषदमा महिलाको सहभागितालाई ५० प्रतिशत कायम गराउनु पर्छ । यदि त्यो सम्भव नभए संविधानत ३३ प्रतिशत अनिवार्य सुनिश्चित गर्दै समावेशी चरित्रको मन्त्रिमण्डल बनाउन आवश्यक छ ।’
सांसद किराँतीले स्थानीय तहमा अधिकार र बजेट बढाउनु पर्नेमा जोड दिएका छन् । उनले केही समयअघि मात्रै चरम अन्तर संघर्षलाई पार गरेर आएको नेकपाभित्र सरकारले मनोमानी रुपमा मुख्य सचिव र राजदूतहरु नियुक्त गर्नाले पार्टीमा फेरि विवादलाई निम्तो दिएको बताए ।
कार्यक्रममा बोल्दै सांसद किरातीले भने, ‘ठूलो भूमरी छलेर अघि बढ्न खोजेको नेकपाको हलो मन्त्रिपरिषद पुनर्गठनमा आएर अड्काइयो । राजनीतिक नियुक्तिमा आएर गोरु चुटियो र यसले दुर्घटनालाई निम्तो दिएको छ ।’ सांसद किरातीले भने, ‘राजतन्त्रमा जसको हालीमुहाली थियो, गणतन्त्रमा पनि उसैको हालीमुहाली छ । यसले नागरिकहरुमा चरम निराशा हुनु स्वभाविक हो ।’
