काठमाडौँ, २० असोज–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महाधिवेशन स्थगित हुनसक्ने नेताहरूले बताएका छन्‌।​ नेकपाले पार्टीभित्रको विवाद मत्थर पार्नका लागि केन्द्रीय कमिटीको दोस्रो बैठकले तय गरेअनुसार २०७७ चैत २५ देखि ३० मा एकताको राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो। ​

असोज ६ गते बसेको सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डु तथा महासचिव बिष्णु पौडेललाई साङ्गठानिक बाँकी काम सक्ने कार्ययोजना बनाउन जिम्मा दिएको थियो। तर, साङ्गठानिक एकताको बाँकी काम सक्ने कार्ययोजना बनाउने समयसीमा सकिएको भएपनि अध्यक्षद्वय र महासचिव पौडेलले साङ्गठानिक एकता कार्ययोजना बनाउन सकेका छैनन्‌। कोरोना महामारीका कारण अहिले राजनीतिक दलका गतिविधिमा समेत प्रायः ठप्प छ।

प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेकका भेटघाटमा बन्द गरेका छन्। यस्तै, अध्यक्ष दाहालले पनि भेटवार्तालाई पातलो बनाएका छन्। प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक नियुक्ति र प्रदेश ५ को राजधानी तोक्नतर्फ केन्द्रित भएकाले साङ्गठानिक एकताको बाँकी काम टुंगिन नसकेको हो।

सचिवालयको निर्णयपछि ओली र दाहालबीच पटक-पटक भेटवार्ता भएपनि कुनै विषय टुंगोमा पुर्‍याउन सकेका छैनन्‌। नेताहरू संगठनको नीतिगत काममा भन्दा पनि सरकारी नियुक्ति र भागबण्डाकै किचलो अधिकांश समय बिताउँदै आएका छन्। प्रधानमन्त्रीले पछिल्लो समय गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट मुख्यसचिव र राजदूत नियुक्त गरेपछि अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल लगायतका नेताहरूले असन्तुष्टि व्यक्त गर्न थालेका छन्।

यता, प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीचको सहमतिमा प्रदेश ५ को राजधानी बुटवलबाट दाङ सार्ने सहमतिपछि प्रक्रिया अघि बढेपछि नेकपामा थप विवाद शुरु भएको छ। कोरोनाको कहर बढ्दै गएका कारण पार्टीको निर्णय कार्यान्वयनमा कठिनाई हुने देखिएको छ।

नेकपाको पार्टी एकता भएको साढे दुई वर्ष बितिसक्दा समेत पार्टी एकताको काम सकेको छैन। तर, कोरोना संक्रमण बढ्दै गएपछि भदौ २६ गतेको स्थायी कमिटीको निर्णयमा कार्यान्वयनमा समस्या पुग्ने देखिन्छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *