भद्रपुर, २० असोज–सशस्त्र प्रहरीले झापामा १०औं बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ। प्रदेश १ मा २२ वटा बिओपी स्थापना गर्ने सरकारो योजनाअनुसार सशस्त्र प्रहरीले कचनकवल गाउँपालिका–५ स्थित पाठामारीमा बिओपी स्थापना गरेको हो। पाठामारीमा स्थापना गरिएको बिओपीको सोमबार झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र सशस्त्र प्रहरी बल नेपाल, प्रदेश १ बराह बाहिनी मुख्यालयका डिआइजी वंशीराज दाहालले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

सीमा अतिक्रमण रोक्नुका साथै सीमा सुरक्षालाई थप बलियो बनाउने उद्देश्य राखेर सशस्त्र प्रहरीलाई तैनाथ गर्ने सरकारको लक्ष्य रहेको प्रदेश १ बराह बाहिनी मुख्यालयका डिआइजी दाहालले बताए। यस वर्ष २२ वटा बिओपी स्थापना गर्नुपर्नेमा पाँचवटा स्थापना भएको उनले बताए।

कचनकवल गाउँपालिकाले पाठामारी बजार क्षेत्रको सरकारी जमिनमा अस्थायी बिओपी निर्माण गरेको हो। ५० जना सशस्त्र प्रहरी अटाउने क्षमता भएको तीन वटा टहरा गाउँपालिकाले आफ्नै लगानीमा बनाइदिएको छ। सीमा क्षेत्रलाई व्यवस्थित गर्ने, सीमा अतिक्रमण र अवाञ्छित गतिविधि रोक्ने सरकारको नीतिअनुसार बिओपी स्थापना भइरहेको प्रजिअ तिमिल्सिनाले बताए। यसले झापाको शान्ति सुरक्षा मजबुत हुने उनको भनाइ छ।

प्रहरी निरीक्षकको कमान्डमा पाठामारी बिओपीमा ५० जना सशस्त्र प्रहरी तत्काल खटाइने सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेटक्वाटर झापाका एसपी रमेशकुमार पाण्डेले बताए। उनका अनुसार १४४ दशमलब २ किलोमिटर खुला सीमा क्षेत्रमा १८ वटा बिओपी यस वर्ष स्थापना गरिने छ। जसमा १० वटा स्थापना भएका छन्। अब ज्यामिरगढी‚ तिरिङ, नकलबन्दा, सत्तिघटा, पन्थापाडा, महेशपुर, आँपगाछीमा बिओपी स्थापना हुने एसपी पाण्डले बताए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *