काठमाडौं, २१ असोज-कोरोना (कोभिड–१९) का कारण यतिखेर सर्वसाधारणलाई गुजारा चलाउन पनि हम्मेहम्मे परेको छ। धेरै विपन्नहरूको घरमा आगो निभिसकेको छ। अब कसरी दैनिकी चलाउने भन्ने चिन्ता अहिले आम मानिसमा छ। तर, देशका निजी विद्यालयहरूले भने महामारीको यस्तो अवस्थामा पनि अभिभावकलाई रूवाउने काम गरेका छन्।
मनलाग्दी शुल्क तोक्ने र अभिभावकले तिर्न नसक्ने बताउँदा विद्यार्थी नै निकालिदिने धम्की निजी विद्यालयहरूले दिइरहेका छन्। गोकर्णेश्वर नगरपालिका-८ मा रहेको बौद्ध इन्टरनेशनल स्कुल अभिभावकसँग बढी शुल्क असुल्ने र तिर्न नसक्नेलाई धम्की दिएर तर्साउने निजी विद्यालयमध्येको एक हो। सो चर्को शुल्क असुलेको भन्दै गत शनिबार अभिभावकले स्कुलमै तोडफोड गरे।
बौद्ध इन्टरनेश्नल स्कुलमा अध्ययनरत एक विद्यार्थीका अभिभावकले विद्यालयले तोकेभन्दा बढी शुल्क लिएपछि तोडफोड गरे। एक जना अभिभावकले भने, ‘स्कुलले स्टेसनरी, यातायात खर्च लगायत अन्यको जोडेर बढी शुल्क लियो। विद्यालयमा गएर बुझ्न खोज्दा विद्यालय व्यवस्थापनले वार्ता नै गर्न चाहेन। त्यसैले स्कुलमा अभिभावकहरूले तोडफोड गरेका हुन्।’ उनका अनुसार स्कुलले सबै कक्षा तहको शुल्क बढाएको छ। युकेजीमा अध्ययन गर्ने विद्यार्थीबाटै मासिक सात हजार रुपैयाँसम्म शुल्क स्कुलले असुलेको छ।
शुल्क नतिरे विद्यार्थी निकाल्ने धम्की
अभिभावकले स्कुलले भनेजति शुल्क नतिरे विद्यार्थी निकाल्ने धम्की समेत दिएको छ। ‘स्कुलले भनेजति शुल्क नदिए अरु ठाउँमा लैजाने विकल्प खुला छ भन्यो,’ अर्का अभिभावकले भने, ‘यसको मतलब शुल्क नतिरे स्कुलले विद्यार्थी निकाल्ने रहेछ। तर, स्कुलले घुमाउरो पाराले भनेको छ। पैसा तिर्न नसक्ने विद्यार्थीलाई अनलाइन कक्षाबाट पनि हटाएको छ।’ कोरोना संकटको बेला स्कुलले अमानवीय व्यवहार गर्न थालेको उनले बताए। उनले भने, ‘हाम्रा छोराछोरी बसमा चढेका छैनन्, कापी लिएका छैनन्। यसको पैसा हामी किन तिर्ने ? न्युनतम शुल्क तिर्न त हामी तयार छौँ। तर, यसरी चर्को शुल्क लिन भएन नि ! यो सीधै लुट्ने नियत हो।’
नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार बौद्ध इन्टरनेशनल स्कुल मात्रै नभई अन्य संस्थागत विद्यालयले पनि चर्को शुल्क उठाउने र विद्यार्थी निकाल्ने काम गरिरहेका छन्। ‘चर्को शुल्क लिँदा बौद्ध इन्टरनेशनलमा भएको तोडफोड घट्ना एक उदाहरण मात्रै हो,’ उनले भने, ‘अन्य स्कुलले पनि चर्को शुल्क लिएका छन्। अनलाइन कक्षामा सहभागी गराएका छैनन्।
शंखमूलमा रहेको केएमसी स्कुलले पनि शुल्क धेरै लिएपछि त्यहाँ हामी गएका छौँ। शुल्क लिने स्कुलले त्यस्तै व्यवहार पाउँछन्।’ पछिल्लो समय निजी विद्यालयले चर्को शुल्क उठाउँदै आएपछि नियमनका लागि सम्बन्धित गाउँपालिका, नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाइमा उजुरी दिने गरेको उनले बताए।
