काठमाडौं, २२ असोज–सरकारी टोली र डा गोविन्द केसीका प्रतिनिधिबीच भएको वार्ता बिना निष्कर्ष स्थगित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहीबार बिहान बसेको वार्ता केही समयका लागि स्थगित भएको डा केसी पक्षबाट वार्ता समितिमा बसेका एक सदस्यले बताए ।

उनले भने, ‘डा केसीले राखेका ६ वटै मागमा बुँदागत छलफल भएको छ तर केही बुँदामा थप गृहकार्य गर्नुपर्ने भएकाले केही समयपछि वा भोलि बिहान फेरि बस्‍ने गरी वार्ता टुङ्गिएको हो ।’

बिहीबार बिहान साढे १० बजेको वार्ता दिउँसो २ बजे स्थगित भएर पुनः साढे ४ वजे सुरु भएको थियो । उक्त वार्ता पुनः साढे ८ बजे स्थगित भएको हो ।

डा। केसीको जीवन रक्षाका लागि चौतर्फी आवाज उठेपछि सत्याग्रहको २४ दिनमा सरकारले वार्ता समिति बनाएको थियो । तर वार्ता समिति बनेको दोस्रो अर्थात सत्याग्रहको २५ औँ दिनमा मात्र सरकारले वार्ता सुरु गरेको हो ।

सरकारकातर्फ शिक्षा सचिव गोपीनाथ मैनाली, सहसचिव जीवराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलिप शर्मा सरकारी वार्तामा टोलीमा छन् ।

डा केसीकोतर्फबाट वार्ता टोली संयोजक डा जीवन क्षेत्री, डा अञ्‍जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल, नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की सहभागी रहेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *