काठमाडौं, २३ असोज–बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप २ हजार ५९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा हालसम्म संक्रमितको कुल संख्या एक लाख ६७६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। शुक्रबार देशभर १३ हजार ८७९ जनाको पिसिआर परीक्षण गरिएको छ।

आज संक्रमित हुनेहरूमा महिला ७ सय ३२ र पुरुष १ हजार ३ सय २७ रहेको मन्त्रालयका पनि प्रवक्ता गौतमले बताए। काठमाडौंमा १ हजार १ सय १६, भक्तपुरमा १ सय ३० र ललितपुर १ सय ६३ जना गरी उपत्यकामा १ हजार ४ सय ९ जना संक्रमित थपिएका छन्।

यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ। आज कोरोना भाइरसबाट थप १० जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ सय पुगेको हो। मन्त्रालयका अनुसार काठमाडौंमा ८७ वर्षिया एक महिला सहित १० जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा झापाका २९ वर्षीय, ५२ वर्षीय पुरुष, सुनसरीका ४६ वर्षीय, ५२ वर्षीय र ६८ वर्षीय पुरुष छन्।

यस्तै काठमाडौंका ७१ वर्षीय, ललितपुरका ८४ वर्षीय, रुपन्देहीका ४७ वर्षीय र ८४ वर्षीय पुरुष छन्। देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ। संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ८ सय ७७, प्रदेश नम्बर २ मा ४ सय ५८, बागमती प्रदेशमा ७ हजार ६ सय ३४ र गण्डकी प्रदेशमा ४ सय ४६ जना रहेका छन्।

यस्तै, लुम्बिनी प्रदेशमा ११ सय ८, कर्णाली प्रदेशमा ४ सय २६ र सुदूरपश्चिम प्रदेशमा २ सय ७ गरी देशभर ११ हजार १ सय ७६ संक्रमित संस्थागत आइसोलसनमा रहेका छन्। यस्तै, होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ हजार २४, प्रदेश नम्बर २ मा ५ सय ३, बागमती प्रदेशमा १० हजार ५ सय १२ र गण्डकी प्रदेशमा ५ सय ६५ जना रहेका छन्।

लुम्बिनी प्रदेशमा १ हजार ४ सय १३, कर्णाली प्रदेशमा ३ सय ६४ र सुदूरपश्चिम प्रदेशमा ७ सय ९६ जना गरी देशभरी १५ हजार ८ सय ७७ जना होम आइसोलेसनमा रहेका छन्। १६ सय ८० डिस्चार्ज आज १ हजार ६ सय ८० जना डिस्चार्ज भएका छन्।

आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ३ सय ३७, प्रदेश नम्बर २ मा १४ हजार ९ सय ८१, बागमती प्रदेशमा २६ हजार ४ सय ८७ र गण्डकी प्रदेशमा ४ हजार ७८ डिस्चार्ज भएका छन्। यस्तै लुम्बिनी प्रदेशमा १० हजार ३ सय ९२, कर्णाली प्रदेशमा ३ हजार ३ सय ५० र सुदूरपश्चिम प्रदेशमा ७ हजार ३ सय ९८ गरी देशभरी ७३ हजार ३२ जना डिस्चार्ज भएका छन्।

मन्त्रालयले कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिँडडुल गरेको पाइए ६ महिनासम्म जेल सजाय हुने बताएको छ। संक्रामक रोग ऐन अनुसार पोजेटिभ देखिएमा ६ महिनाको जेल सजाय हुने प्रवक्ता डा। गौतमले बताए। यसका लागि अनुगमनमा सहयोग गर्न घर परिवार र छिमेकीलाई मन्त्रालयले अनुरोध गरेको छ। कारवाहीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सूचना दिइएको उनले बताए।

दशैं तिहारमा भिडभाड नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ। अनलाइन वा फोनबाट नै यो वर्षको दशैं तिहारमा आशीर्वाद लिन उनले आग्रह गरे।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *