राजस्थान (एजेन्सी), २४ असोज–एक पुजारीलाई भारतको राजस्थानमा जिउँदै जलाएर मारिएको छ ।
राजस्थानस्थित करौली जिल्लाको सदरमुकामबाट करिब ४ किलोमिटर टाढाको बुकाना गाउँमा जमिनबारे विवादका क्रममा पुजारीको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको बीबीसी हिन्दीले जनाएको छ ।
जलेर घाइते पुजारीको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको छ । करौली प्रहरीका अधिक्षक मृदुल कच्छावाका अनुसार पाँच जनाविरुद्ध पुजारी बाबुलाल वैष्णवलाई त्यसरी जिउँदै जलाएको आरोप लागेको छ ।
आरोपितमध्ये मुख्य अभियुक्त कैला मिणालाई पक्राउ गरिएको उनले बीबीसीसँग बताएका छन् । बाँकी आरोपितको पनि खोजी भइरहेको करौली प्रहरीले जनाएको छ ।
जग्गा विवादका क्रममा ती पुजारीको हत्या भएको उनले पुष्टि गरेका छन् । विवादबारे दुवै पक्षले प्रहरीलाई जानकारी नदिएको र घटना अचानक भएको प्रहरीको दाबी छ । एजेन्सी
