काठमाण्डौ, ९ कार्तिक–नेपाली क्रिकेटको महाउत्सव नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि शुरु हुँदैछ ।
प्रतियोगिताको उदघाटन खेलमा गएको संस्करणका फाइनलका प्रतिष्पर्धी लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । आज बेलुकी ५ बजे शुरु हुने खेलसँगै तेस्रो संस्करणको औपचारिक शुरुवात हुनेछ ।
तेस्रो संस्करणमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाण्डौ गोर्खाज गरी आठ टोली सहभागी हुनेछन् ।
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । गएको संस्करणको विजेता लुम्बिनी लायन्सले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो ।
यस्तै पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले पनि १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो । क्यानका अनुसार यसपटक उपविजेता टोलीले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिता शुरु हुन लागेसँगै नेपाली क्रिकेटप्रेमीको ध्यान कीर्तिपुरमा केन्द्रित छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी०बाट मान्यता, विदेशी खेलाडीको सहभागिता, फ्रेन्चाइज टोलीबीचको प्रतिस्पर्धा, दर्शकको बढ्दो चासो र प्रतियोगितासँग जोडिएको व्यावसायिक गतिविधिले यसपालिको एनपीएललाई थप विशेष बनाएको छ ।
आईसीसीले एनपीएललाई मान्यता दिएसँगै यसपटक विश्वका चर्चित ‘स्टार’ खेलाडीहरू मोइन अली, शाकिब अल हसन, रबी बोपारा, मार्क वाट, हुसैन तलात, आरिफुल इस्लाम, अकबर अली, सेफ अली जैब, स्कट कुगेलेइन, निरोशन डिकवेला, हरमित सिङ्ह, शाहबजादा फरहान, जिमि निसन, डेविड वार्नर, केएस भरत, सचान अर्चग, आन्दे रसेल, एन्जेलो म्याथ्युज, चरित असलन्का, सुभम रन्जने, इफ्तिखार अहमद, रदर्फोर्ड, मेहन्दी हसन, फ्याबियन एलनजस्ता विदेशी खेलाडीको आगमन भएको छ ।
विदेशी खेलाडीको आगमनले दर्शकको चासो बढाउनुको साथै फ्रेन्चाइजको व्यावसायिक आकर्षण विस्तार गर्ने र प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट बजारमा परिचित गराउने सम्भावना पनि बढाएको छ । यसपटक ठूलो संख्यामा दर्शक उपस्थित हुने अपेक्षा गरिएकाले प्रवेशद्वार व्यवस्थापन, टिकट जाँच, बस्ने ठाउँको व्यवस्थापन, सुरक्षा, प्राथमिक उपचार, सरसफाइ र यातायात व्यवस्थापनमा विशेष ध्यान दिइएको छ ।
निर्णय समीक्षा प्रणाली ९डीआरएस०को प्रयोगसमेत गरिंदैछ । शिथिल अर्थतन्त्रका बीच ठूलो खेलकुद प्रतियोगिताले होटल, रेस्टुरेन्ट, यातायात, खुद्रा व्यापार, सञ्चार, विज्ञापन र मनोरञ्जन क्षेत्रमा माग सिर्जना गर्न सक्छ । प्रतियोगिताका लागि टिकटको माग बढ्नुले नेपाली क्रिकेटप्रति दर्शकको आकर्षण र व्यावसायिक सम्भावना दुवै देखाउँछ ।
नेपाल क्रिकेट संघले सार्वजनिक गरेको टिकट दरअनुसार लिग चरणका खेलमा साधारणतर्फको टिकट पाँच सय रुपैयाँ र प्रिमियमतर्फको टिकट एक हजार रुपैयाँ निर्धारण गरिएको छ ।
एलिमिनेटर र फाइनल खेलका लागि भने साधारण टिकट एक हजार र प्रिमियम टिकट दुई हजार रुपैयाँ तोकिएको छ । टिकट बिक्रीका लागि ईसेवालाई आधिकारिक माध्यम बनाएको छ ।
एनपीएलको तेस्रो संस्करणलाई लक्षित गर्दै कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई थप सुधार गरिएको छ । तेस्रो संस्करणको एनपीएल मंसिर ५ गतेसम्म चल्नेछ ।

