रामेछाप, १० कार्तिक–उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रोजगारीलाई नेपालको प्रमुख समस्या बताउँदै पाँच वर्षभित्र शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गर्ने घोषणा गरेका छन्।

रामेछापको उमाकुण्ड गाउँपालिका केन्द्र प्रीतिमा आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले देशको आर्थिक रूपान्तरणका लागि रोजगारी सिर्जना र हरित क्रान्तिको योजना अघि सारे।

उनले आफ्नो पार्टीको सरकार बने दुई सय युनिटसम्म विद्युत् निःशुल्क उपलब्ध गराउने र प्रत्येक नेपालीलाई विद्युत् आयोजनाको एक हजारदेखि दुई हजार कित्तासम्म शेयर निःशुल्क दिने योजना रहेको बताए।

नेपालमा बस्ने नागरिकलाई कम्तीमा एक हजार र विदेशमा रोजगारी गरी विप्रेषण पठाउनेलाई कम्तीमा दुई हजार कित्ता शेयर दिने उनको भनाइ छ।

घिसिङले आगामी २० वर्षमा ४० हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने दाबी गर्दै भारत र बङ्गलादेशमा ३० हजार मेगावाट विद्युत् बिक्री गर्न सके २० देखि ३० खर्ब रुपैयाँसम्म आम्दानी गर्न सकिने बताए।

उनले पेट्रोलियम पदार्थ र ग्यासको सट्टा विद्युत्को प्रयोग बढाउने, हरित हाइड्रोजन उत्पादन गर्ने र डिजिटल अर्थतन्त्रमा युवालाई सहभागी गराएर रोजगारी सिर्जना गर्ने योजना पनि सुनाए।

धेरै राजनीतिक वादको बहसले मात्र देशको उन्नति नहुने भन्दै घिसिङले आर्थिक रूपान्तरणका लागि मध्यमार्गी विचार आवश्यक रहेको बताए। उज्यालो नेपाल पार्टी सुशासन, समृद्धि र सामाजिक न्यायका तीन आधारमा अघि बढेको उनको भनाइ छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *