काठमाडौं, २७ असोज–कर्णालीमा केही दिनयता जारी रडाकोका कारण यति बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी तरंगित छ। आफ्नै पार्टीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपामा नयाँ विवाद सुरु भएको छ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र कर्णाली प्रदेशमा देखिएको समस्या समाधानका लागि कर्णाली प्रदेशका पदाधिकारीलाई काठमाडौँ बोलाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको मंगलबार भएको भेटवार्ताले कर्णाली प्रदेशको पदाधिकारीलाई काठमाडौँ बोलाएर छलफल गर्ने सहमति बनेको हो।
माधव समूह ‘ब्याक’ भएपछि कर्णालीको संकट टर्यो
कर्णाली प्रदेशको पदाधिकारीलाई बिहिबार छलफलको लागि काठमाडौँ बोलाइएको प्रचण्डको प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिए। मंगलबारको प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल, महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्माबीच भएको छलफलले यस्तो निर्णय गरेको हो।
कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा हुन। भने सह इन्चार्ज मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेतृत्व गर्ने यामलाल कँडेल हुन्। उनी प्रधानमन्त्री ओलीनिकट मानिन्छन्।
कर्णाली प्रदेशका पार्टी अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्मा रहेका छन्। आइतबार मुख्यमन्त्री शाही विरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेको थिए। तर, वरिष्ठ नेता माधवकुमार नेपाल निकट सांसदहरुले मुख्यमन्त्रीको साथ दिएपछि उनको कुर्सी जोगिएको छ।
