दमक नगरपालिकाका मेयर रोमनाथ ओली र उनकी श्रीमती लिला ओली यतिखेर कोरोनाको उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा रहेका छन् ।
उनीहरुको यसअघि दमककै आम्दा अस्पताल र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा पनि उपचार भएको थियो ।
तर, पछिल्लो समय तीन दिनदेखि उनीहरुको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । यसैक्रममा मेयर रोमनाथ ओलीसंग मोबाइल फोनमा गरेको कुराकानीको अंशः
अहिले तपाईको अवस्था कस्तो छ ?
–म त निको भइसकें । अहिले केही पनि लक्षण र समस्या छैन ।
शुरुमा तपाईलाई के भएको थियो ?
–शुरुमा हल्का टाउको दुख्थ्यो । नाक सकसकाउँथ्यो । त्यसपछि कहिलेकाँही २र३ पटक सम्म १०१ डिग्रीको ज्वरो आयो ।
कोरोना संक्रमण चाहीँ कसरी भयो ?
–मलाई त ज्वरो पनि आएको थिएन । तर लिला (श्रीमती) लाई परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो । त्यसपछि शंका लागेर मलाई पनि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण भएको पाइयो ।
कोरोना भएपछि के कस्ता लक्षण देखिए ?
–जिउ गल्ने, खान मन नलाग्ने, जे सुँघेपनि नाकमा एकै खालको किर्याउने गन्ध आयो । घाँटी भने खासै दुखेन । दुई दिनसम्म पखाला चल्यो ।
अहिले कस्तो छ त ?
–अहिले खानमा रुची छ । भात, दाल, रोटी जे भेटाइन्छ, त्यही खाने गरेको छु ।
नगरपालिकाको काम कसरी गरिरहनु भएको छ ?
–मोबाइल फोनबाट साथी भाईसंग सम्पर्क हुन्छ । त्यसैबाट अफिसको काम पनि भइरहेको छ ।
तपाई शुरुमा आम्दा अस्पताल बस्नुभयो, फेरि धरान जानुभयो किन ?
–विराटनगरमा अस्पतालमा ठाउँ पाइएन, त्यसैले धरान गयौँ ।
कोरोना भएपछि चिन्तारडर केही लागेको छैन ?
–मलाई शुरुदेखि नै चिन्ता लागेन । डर पनि लागेन । शुरुमा लक्षण केही पनि थिएन । तर कोरोना देखियो ।
तपाईको श्रीमतीको अवस्था चाहीँ कस्तो छ नि ?
–उनलाई बोलेपछि श्वास बढ्छ । काठमाडौंबाट औषधि मगाएर ख्वाउँदैछौं । औषधि ख्वाएको ५-६ डोज भयो । अहिले केही सुधार भइराखेको छ । तर ख्वाउन पियाउन उठाउन अलि गाह्रो पर्छ । त्यसैले मैलै नै उनलाई सहयोग र स्याहार गरिराख्या छु ।
अब कहिलेसम्ममा तपाईहरु दुवै जनालाई ठीक होला ?
–पीसीआर परीक्षणको नतिजा नेगेटिभ आउनु पर्यो । अझै ५,७ दिन लाग्छ ।
नगरवासीलाई तपाईको के सुझाव छ ?
–अत्यावश्यक काम बाहेक हिंड्डुल नगरौं । शरीरको सरसफाईमा अत्यन्तै ख्याल गरौंँ । गुर्जो, मरिच, अदुवा, लसुन, अम्बकको पात लगायत मिलाएर पानीमा उमालेर पिउनु पर्ने रहेछ । त्यसबाट धेरै ठीक हुने रहेछ । मास्कको प्रयोग अनिवार्य गरौं ।
तपाईहरुमा कसरी कोरोना संक्रमण भयो, केही अनुमान छ ?
–खासगरी कामको सिलसिलामा म नै धेरैजसो बाहिर हिंड्नु परेको हो । लिला त घरमै रहेकाले कसरी सर्यो होला र ? म बाहिरबाट आउँदा नै लाग्यो भन्ने अनु्मान हो ।
अन्त्यमा, केही भन्नु छ कि ?
–अहिले कोरोनाको संक्रमण तीब्र गतिमा फैलिएको छ । दशैं तिहार जस्ता चाडपर्व यही बेला नजिकिँदै छन् । त्यसैले अब भीडभाड गर्ने काम नगरौं । आ–आफ्ना घरमा बसेर चाडपर्व मनाऔं । धेरै जना भेला नभइकन परिवारका बीचमा मात्र चाडपर्व मनाऔं ।
