काठमाडौं, २ कार्तिक–स्पेनिस ला लिगामा उपाधि दाबेदार दुई टिम बार्सिलोना र रियल म्याड्रिड शनिबार राति भएका खेलमा पराजित भएका छन्।

रियल म्याड्रिडले घरेलु मैदानमा हार बेहोरेको हो। रियललाई नवप्रवेशी टिम क्याडिजले १-० गोलले पराजित गरेको हो।

क्याडिजका लागि लोजानोले १६ मिनेटमा गोल गरेका थिए। उनलाई गोल गर्न नेग्रेडोले पास उपलब्ध गराएका थिए। क्याडिजले रियललाई ३० वर्षपछि पराजित गरेको हो।

खेलमा लुका जोभिकले बललाई जाली चुमाएका थिए। तर करिम बेन्जिमा अफसाइड पोजिसनमा हुँदा सो गोलले मान्यता पाउन सकेन।

यता ला लिगाको अर्को दाबेदार टिम बार्सिलोनालाई गेटाफेले १-० गोलले पराजित गरेको छ।

गेटाफेको जितमा माटाले ५६ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।

बार्सिलोनाका डे जोङले गेटाफेका डोकोनामलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा माटाले गोल गरेका हुन्।

बार्सिलोनाका लागि लियोनल मेसीले पहिलो हाफमा गोल गर्न प्रयास गरे पनि सफल हुन सकेन। उनको प्रहार पोस्टमा लागेको थियो। यस्तै एन्टोनी ग्रिजम्यानको प्रहार पनि थोरैले बाहिरियो।

यता एट्लेटिको म्याड्रिडले भने सेल्टा भिगोलाई २-० गोलले पराजित गरेको छ।

हार पछि पनि रियल म्याड्रिड अंक तालिकामा शीर्ष स्थानमा कायम छ। रियलले ५ खेलबाट १० अंक जोडेको छ। गोल अन्तरमा पछि परेका गेटाफे र क्याडिजको पनि समान १०-१० अंक छ।

बार्सिलोना भने चार खेलबाट ७ अंक जोड्दै अंक तालिकाको नवौं स्थानमा छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *