ताप्लेजुङ, ४ कार्तिक–नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नागरिकका आधारभूत आवश्यकतासमेत सरकारले पूरा गर्न नसकेको आरोप लगाएका छन् ।
ताप्लेजुङमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मौलिक हक र सर्वोच्चको परमादेशविपरीत कोरोनाको उपचारबाटै सरकार पन्छिएको आरोप लगाए । दिनानुदिन नागरिक सङ्क्रमणको चपेटामा परिरहेका बेला उपचार र सङ्क्रमणको जोखिम व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्ने उनले औँल्याए ।
अर्को प्रसङ्गमा उनले पार्टी महाधिवेशन छिटै हुने र त्यसबाटै विभाजनलाई अन्त्य गरेर कांग्रेस अघि बढ्ने बताए । “महाधिवेशनबाटै कांग्रेसभित्र देखिएका बेथिति र सैद्धान्तिक विचलनको अन्त्य भई एकताको सन्देश आउने छ र सम्भावित खतराबाट मुलुकलाई बचाउन थप चनाखो र बलियो हुनेछ,” उनले भने । सबै समूहलाई मिलाएर पार्टीको नेतृत्व गर्ने तयारी आफूले गरेको उनले स्पष्ट पारे ।
नेता सिटौलालाई कांग्रेस ताप्लेजुङका नेता-कार्यकर्ताले भेट गर्दै पार्टीभित्र देखिएको विभाजनले निराशा छाएको जनाउँदै यसको अन्त्य गर्न सुझाएका थिए । सिटौलासँगै पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान पनि ताप्लेजुङ पुगेका थिए ।
